तपाईँ सुन्दै हुनुहुन्छः

‘घर र बस्ती सफा–सुन्दर बनाइराख्नुस्’

पनौती नगरपालिका प्रमुख भीम न्यौपानेले हरेक कार्यक्रम तथा स्थानीयसँगको छलफलमा ‘आफ्नो घर र बस्ती सरसफाइ बनाइराख्नुस्’ भन्न छुटाउनुहुन्न ।

प्रत्येक व्यक्तिले आफ्नो घर–आँगन, चोक, गल्ली तथा बस्ती सफा राख्न सक्छ–राख्नुपर्छ, यसमा विशेष ध्यान दियौँ भने मात्रै बस्ती सफा, सुन्दर र हराभरा हुने न्यौपाने बताउनुहुन्छ । उहाँले आफ्ना घर वरिपरिको खाली जमिनमा तथा खेतबारीका छेउछाउमा फलफूलका बिरुवा रोप्नसमेत नगरवासीमा अनुरोध गर्दै आउनुभएको छ ।

नगरवासीले बजारबाट ल्याइने प्लाष्टिकजन्य झोला, चाउचाउको खोल तथा अन्य प्याकिङका सामग्री घरमै सङ्कलन गरी पालिकाबाट आउने फोहोर सङ्कलनकर्तालाई दिने बानी बसाल्नुपर्ने बनेपा पाँचखाल नपाप्रमुख महेश खरेलले बताउनुभयो ।

उहाँ सार्वजनिकस्थल, धार्मिकस्थल तथा मन्दिर, पोखरी, पर्यटकीयस्थलको सरसफाइका लागि सामूहिकरूपले हप्ताको एकदिन स्वयंसेवकका रूपमा सरसफाइमा समय दिनसमेत आग्रह गर्नुहुन्छ ।

स्थानीय तहले आ–आफ्ना घर तथा बस्ती सफा, सुन्दर, हराभरा बनाइराख्न स्थानीय बासिन्दामा आग्रह गर्दै आएका छन् । सरकारको ‘सुखी नेपाली ः समृद्ध नेपाल’ महाअभियानमा सहयोग पुर्याउने उद्देश्यसहित काभ्रेपलाञ्चोकका नगरपालिका तथा गाउँपालिकाले स्थानीय बासिन्दामा यस्तो आग्रह गर्दै आएका हुन् ।

आफ्ना क्षेत्रका बासिन्दामा स्थानीय तहका प्रमुख एवं जनप्रतिनिधिको एउटै प्रकृतिका सुझाव तथा आग्रह छन् । काभ्रेपलाञ्चोकमा छ नगरपालिका तथा सात गाउँपालिका छन् ।

घरका भान्छाबाट निस्कने फोहरलाई कुहिने र नकुहिने छुट्याएर राख्न, आफ्नो घर अगाडिको नालामा फोहर नफाल्न तथा आफैँले सधैँ सफा बनाइराख्न, बाटो, नाला, चोक, गल्ली, जताततै फोहर हुँदा घरको सुन्दरता, पानीको निकास र घुमफिर गर्ने ठाउँसमेत दुर्गन्धित हुनाले सरसफाइमा सचेत भई सचेतना गराउनसमेत स्थानीय तहले अनुरोध गर्दै आएका छन् ।

बस्ती सुन्दर र स्वच्छ बनाइराख्न वनजङ्गलको संरक्षण गरी खाली जमिनमा वृक्षरोपण गर्न तेमाल गाउँपालिकाका अध्यक्ष सलामसिंह तामाङको स्थानीयवासीलाई सुझाव छ ।

आफ्नो घर, बस्ती सफा, सुन्दर, हराभरा बनाइराख्दा ‘मन शान्त’ भइराख्ने पनि स्थानीय तहका जनप्रतिनिधिका मनोवैज्ञानिक धारणा छन् । एक वर्षदेखि कोरोना भाइरसको सङ्क्रमणले नेपालीसमेतको जीवनशैली नै परिवर्तन भइरहँदा व्यक्तिगतसँगै हातको सरसफाइ र एकअर्काबीच दूरी कायम गर्न सुझाव दिँइँदै आइएको छ ।

हाल आएर कोरोना सङ्क्रमण दर बढ्दै गएपछि सरकारले आइतबार सूचना जारी गर्दै सभा जुलुस गर्न रोक लगाउँदै जनस्वास्थ्य मापदण्ड अपनाउन आग्रह गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button