तपाईँ सुन्दै हुनुहुन्छः

गाउँपालिकाले एक साता फागु महोत्सव गर्ने

पाल्पा । पाल्पाको रिब्दीकोट गाउँपालिकाले एक साता फागु महोत्सव गर्ने भएको छ । यही चैत १० देखि १७ गतेसम्म फागु महोत्सव गर्न लागिएको गाउँपालिकाले जनाएको छ ।

स्थानीय रुपमा परम्परादेखि नै चल्दै आएको फागु संस्कृतिको संरक्षण गर्न फागु महोत्सव गर्न लागिएको रिब्दीकोट गाउँपालिकाका अध्यक्ष नारायणबहादुर जिसीले जानकारी दिनुभयो । फागु महोत्सवमा पालिकाभित्रका वडामा प्रचलित फागु नाच, लोकनृत्य, झ्याली, पन्चेबाजालगायतका सांस्कृतिक कार्यक्रम हुनेछ ।

फागु महोत्सवका अवसरमा विभिन्न कार्यक्रम समेत राखिएको छ । महोत्सव मूल आयोजक समितिका अनुसार सरसफाई, रक्तदान, भलिवल प्रतियोगिता, अन्तरक्रिया, लोकनृत्य प्रतियोगिता, चीर पोल्ने कार्यक्रम, फागु उत्सव, सांस्कृतिक कार्यक्रम हुनेछ ।यस क्षेत्रको सांस्कृतिक पर्वलाई प्रचारप्रसार गरी आन्तरिक तथा बाह्य पर्यटक बृद्धि गर्न फागु महोत्सव सफल हुने अपेक्षा गरिएको छ ।

महोत्सव मूल आयोजक समितिका सहसंयोजक एवं भैरव मन्दिर व्यवस्थापन समितिका अध्यक्ष तुलबहादुर अधिकारीले फागु महोत्सवले परम्परादेखि नै चल्दै आएको फागु संस्कृति नयाँ पुस्तामा हस्तान्तरण गर्न सहयोग पुग्ने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button