तपाईँ सुन्दै हुनुहुन्छः

सय वर्षमा मनकुमारीलाई ज्येष्ठ नागरिक परिचयपत्र

तनहुँ । तनहुँ आँबुखैरेनी गाउँपालिका–१ सत्रसयकी मनकुमारी श्रेष्ठले यहि पुस ५ गतेदेखि उमेरले ठ्याक्कै सय वर्ष कट्नुभयो । वि.सं. १९७६ साल पुस ५ गते जन्मिनुभएकी सय वर्षीया मनकुमारीले आजसम्म पनि ज्येष्ठ नागरिक परिचयपत्र पाउनुभएको थिएन । जसका कारण सरकारले ज्येष्ठ नागरिकलाई दिने कुनै पनि सुविधाहरु उहाँले उपभोग गर्ने अवस्था थिएन ।

अब भने उहाँलाई सरकारले ज्येष्ठ नागरिकलाई दिने सेवा सुविधा पाउने हुनुभएको छ । किनभने उहाँले आईतबार आँबुखैरेनी गाउँपालिकाकी उपाध्यक्ष पुष्पादेवी श्रेष्ठको हातबाट ज्येष्ठ नागरिक परिचयपत्र पाउनुभएको छ । आईतबार देखि आँबुखैरेनी गाउँपालिकाले वडा वडामै ज्येष्ठ नागरिक परिचयपत्र वितरण कार्य सुरु गरेसँगै बल्ल मनकुमारीले सय वर्षमा ज्येष्ठ नागरिक परिचय पत्र पाउनुभएको हो ।

ज्येष्ठ नागरिक परिचय पत्र पाएपछि उहाँले खुशी हुदै भन्नुभयो – “अब मैले पनि भत्ता पाउने भो।“गाउँपालिकाका उपाध्यक्ष पुष्पादेवी श्रेष्ठले ज्येष्ठ नागरिकलाई सबैले सम्मान गर्नुपर्ने बताउनुभयो । यस्तै प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोख्नेलले सबै वडा कार्यालयबाट ज्येष्ठ नागरिकलाई परिचयपत्र वितरण गरिने जानकारी दिदै परिचयपत्र वितरणपछि ज्येष्ठ नागरिकले ज्येष्ठ नागरिक ऐन बमोजिमका छुट तथा सुविधा प्राप्त गर्ने बताउनुभयो । पोख्नेलका अनुसार गाउँपालिकाका ६ वटै वडामा करिब एक हजार चार सय भन्दा बढी ज्येष्ठ नागरिकलाई परिचयपत्र वितरण गरिनेछ ।

चैत ९ गते आँबुखैरेनी गाउँपालिका २ र ३ को वडा कार्यालयबाट परिचयपत्र वितरण गर्ने कार्यक्रम रहेको गाउँपालिकाका सूचना अधिकारी शिखरलाल डोटेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button