तपाईँ सुन्दै हुनुहुन्छः

एफएम रेडियोको नवीकरण र नयाँ फ्रिक्वेन्सी वितरण अनलाइनबाटै

काठमाडौँ । सरकारले राष्ट्रिय रणनीति तयार गरेर नै एफएम रेडियोको फ्रिक्वेन्सी वितरणलाई व्यवस्थित गर्न लागेको जनाएको छ ।

सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराब) को २०औँ स्थापना दिवसका अवसरमा आज काठमाडौँमा आयोजित नीतिगत बहस कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले सरकारले विज्ञहरूसँग छलफल गरी पहिलो पटक फ्रिक्वेन्सी वितरणलाई व्यवस्थित र पारदर्शी बनाउने प्रक्रिया अघि बढाएको र चाँडै नै त्यसलाई सार्वजनिक गरिने जानकारी दिनुभयो ।

उहाँले एफएम रेडियोको नयाँ अनुमति पत्र वितरण र नवीकरणलाई पनि अनलाइनबाटै गर्न सकिने गरी व्यवस्था गर्न लागेको बताउनुभयो ।

सरकारले गरेको राम्रो कामको सूचना आम नागरिकसम्म पुर्‍याउन केही सञ्चार माध्यमहरूले नचाहेको भन्नुहुँदै मन्त्री गुरुङले सञ्चार माध्यमहरू राम्रो कामको सूचना दिन र आलोचना गर्न स्वतन्त्र रहेको बताउनुभयो ।

कार्यक्रममा राष्ट्रिय सभाका सांसद रामनारायण विडारीले सामुदायिक रेडियोले गाउँ गाउँमा सूचना दिन महत्त्वपूर्ण भूमिका खेलेको बताउनुभयो ।

त्यसै गरी अर्का सांसद राधेश्याम अधिकारीले सामुदायिक रेडियोहरूले पछिल्लो समयमा राजनीतिक पार्टी र गुटको प्रचार गर्न थालेकाले त्यसलाई नियमन गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

राष्ट्रिय योजना आयोगका सदस्य एवं अकोराबका पूर्व अध्यक्ष मीनबहादुर शाहीले सामुदायिक रेडियोहरूले जनजीविकाका मुद्दा उठाएर परिवर्तनको सुरुवात गरेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button