तपाईँ सुन्दै हुनुहुन्छः

शुक्लागण्डकीमा मेयर कप हुने

तनहुँ । खेल क्षेत्रको विकास गर्न तनहुँको शुक्लागण्डकी नगरपालिकामा मेयर कप भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । नगरपालिकाले सोमबार पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी दिएको छ । पत्रकार सम्मेलनमा आयोजक नगरपालिकाले खेलकुदका गतिविधि विस्तार गरी दक्ष खेलाडी उत्पादन गर्न प्रतियोगिता आयोजना गरिएको जनाएको छ ।

आगामी १३ गतेदेखि सुरु हुने प्रतियोगितामा गण्डकी प्रदेश अन्तर्गत रहेका पालिकाहरूले सहभागिता जनाउन सक्ने आयोजक नगरपालिकाले जनाएको छ । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय पुरस्कार क्रमशः एक लाख ५० हजार, एक लाख र ५० हजारको साथमा शिल्ड मेडल र प्रमाण पत्र रहेको छ ।

प्रतियोगिताको तयारी तीव्र पारिएको जनाउँदै खेल संयोजक समेत रहेका वडा न ५ का वडाध्यक्ष दिर्घबहादुर थापाले विधागत रुपमा उत्कृष्ट खेल कौशल प्रस्तुत गर्ने खेलाडीहरूलाई जनही ५ हजार र प्रमाण पत्र सहित पुरस्कृत गरिने जानकारी दिनुभयो ।

नगरपालिकाका मेयर किसान गुरुङले तनहुँका खेलाडीहरू अन्यत्र गएर राम्रो खेल कौशल प्रस्तुत गर्ने नगरेको जनाउँदै खेलाडीहरूको हौसला र खेल क्षेत्रका विकासका लागि पहिलो पटक प्रतियोगिता आयोजना गर्ने तयारी भएको बताउनुभयो । गत बर्ष नै मेयर कप आयोजना गर्ने तयारी भए पनि कोरोना महामारीका कारण स्थगित भएको गुरुङले बताउनुभयो ।

वडा न ८ स्थित गाउँफर्कोदय माध्यमिक विद्यालयको खेलकुद मैदानमा हुने प्रतियोगिता चैत्र १५ गतेसम्म सञ्चालन हुनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button