तपाईँ सुन्दै हुनुहुन्छः

बेलहिया नाकामा सतर्कता अपनाउन थालियो

रुपन्देही । छिमेकी देश भारतका विभिन्न प्रान्तमा कोरोना सङ्क्रमणको दोस्रो लहर बढ्न थालेसँगै रुपन्देहीको सीमा क्षेत्र बेलहिया नाकामा सतर्कता अपनाउन थालिएको छ ।

भारतको केही राज्यमा कोरोनाको संक्रमण दर तीव्र गतिमा बढ्न थालेपछि संक्रमण नेपालमा पनि भित्रिन सक्ने प्रबल सम्भावना रहेकोले वेलहिया नाकामा पनि हेल्थ डेस्क राखेर परीक्षण गर्ने तयारी स्वास्थ्य कार्यालय रुपन्देहीले गरेको छ ।

स्वास्थ्य कार्यालयकै पहलमा सीमा क्षेत्रमा २ वटा टेन्ट निर्माण भइरहेको छ । सिद्धार्थनगर नगरपालिकासँगको सहकार्यमा उक्त हेल्थ डेस्क स्थापना हुन लागेको हो । हेल्थ डेस्कका लागि आवश्यक जनशक्ति स्थानीय सरकारले र सामग्री स्वास्थ्य कार्यालयले उपलब्ध गराउने गरी तयारी भएको स्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोल निरीक्षक तथा कोभिड फोकल पर्सन केदारनाथ शाहले जानकारी दिनुभयो ।

रोजगारीको लागि गएका नेपालीहरू पुनः गाउँघर फर्किन थालेकोले सीमा क्षेत्रमा जोखिम बढेको भन्दै नेपाल सरकारले १४ नाकामा हेल्थ डेस्क सक्रिय बनाएको जनाएको छ । भारतबाट नेपाल आउने शङ्कास्पद बिरामीलाई हेल्थ डेस्कमा आरडिटी बेस एन्टीजिन किटबाट परिक्षण गर्ने तयारी रहेको स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख राजेन्द्र गिरीले जानकारी दिनुभयो ।

नेपाल आउने यात्रुहरूका लागी भने अहिले कुनै सावधानी अपनाइएको छैन । सीमामा नेपाल तर्फबाट निर्बाध रुपमा किनमेलका लागि आवतजावत भइरहेको छ, स्वास्थ्य चेकजाँचका लागि बनाइएको डेस्कमा अहिलेसम्म प्रहरीले भारतबाट आउनेहरूको तथ्याङ्क मात्र लिने गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button