तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रिय गैँडा गणना २०७७ को शुभारम्भ

वीरगंज । पर्सा राष्ट्रिय निकुञ्जको रमौली–प्रतापपुर इलाकाबाट आज एकै साथ दुर्लभ वन्यजन्तु एकसिंगे गैँडाको नेपालमा गणना शुरु गरिएको छ ।

चितवन राष्ट्रिय निकुञ्ज र पर्सा राष्ट्रिय निकुञ्जको सीमा क्षेत्रमा पर्ने मकवानपुर जिल्लाको मनहरी गाउँपालिका अन्तर्गत रमौली प्रतापपुर इलाकाबाट वन तथा वातावरण मन्त्री प्रेम आलेले राष्ट्रिय गैँडा गणना २०७७ को शुरु भएको घोषणा गर्नुभयो ।

मन्त्री आलेले लोप हुँदै गएको एक सिङे गैँडाको संरक्षणका लागि सरकार र संरक्षणमा लागेका सङ्घसंस्थाले ध्यान दिइरहेको बताउँदै प्राकृतिक प्रकोपजन्य घटनाबाट पनि वन्यजन्तु मरिरहेको हुँदा यसलाई न्यूनीकरण गर्न ध्यान दिनु पर्ने कुरामा जोड दिनुभयो ।

उहाँले विगतमा बाढीले बगाएर भारत पुगेका गैँडालाई फिर्ता ल्याइएको घटना स्मरण गर्दै सरकारले चोरी सिकारी निस्तेज पार्नेसँगै प्राकृतिक प्रकोपबाट वन्यजन्तुलाई जोगाउन प्रयास गरी रहेको कुरामा जोड दिनुभयो ।

पर्सा राष्ट्रिय निकुञ्जको रमौली प्रतापपुर इलाकाबाट ४० वटा हात्ती सहित ३ सय जना गणकको सहभागितामा गैँडा गणना शुरु भएको पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत मनोज साहले बताउनुभयो ।

टोलीले चितवन राष्ट्रिय निकुञ्जसहित पर्सा राष्ट्रिय निकुञ्ज, बर्दिया राष्ट्रिय निकुञ्ज शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा गैँडा गणना गर्ने कार्यक्रम रहेको छ ।

आजबाट शुरु भएको गैँडा गणनाका लागि चितवन राष्ट्रिय निकुञ्जलाई १९ वटा ब्लकमा विभाजन गरिएको छ । हरेक दिन एउटा ब्लकमा गैँडा गणना गरिने चितवन राष्ट्रिय निकुञ्जले जानकारी दिएको छ ।

गैँडा बस्ने स्थान, उनीहरूको उमेर, शारीरिक अवस्था लगायतका विवरणहरू हात्तीमा सबार गणकहरूले सङ्कलन गर्नेछन् । तीन सातामा चितवन राष्ट्रिय निकुञ्जभरिकै गैँडा गणना गरेर सकिने अनुमान गरिएको छ ।

वन तथा वातावरण मन्त्री आलेले गैँडा गणना सुरु गर्नुभएको क्षेत्र पर्सा राष्ट्रिय निकुञ्जको रमौली प्रतापपुर पनि गैँडाको बासस्थलको रुपमा मानिन्छ ।

चितवन राष्ट्रिय निकुञ्जसहित गैँडा पाइने नेपालका विभिन्न निकुञ्जमा ६ वर्षपछि गैँडाको गणना हुन लागेको हो । यस अघि सन् २०१५ मा गैँडा गणना गर्दा नेपालमा ६ सय ४५ वटा गैँडा भेटिएको पर्सा राष्ट्रिय निकुञ्जका वाडेन मनोज साहले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button