तपाईँ सुन्दै हुनुहुन्छः

विकृतिका रुपमा मौलाउँदै सल्यानमा गर्भपतन

सल्यान । सल्यानमा पछिल्लो समय सुरक्षित गर्भपतन गराउने महिलाको सङ्ख्यामा वृद्धि आएको छ ।

नेपालका वर्तमान कानुन तथा ऐनले १२ हप्तासम्मको गर्भपतन गराउन पाउने कानुनी व्यवस्था गरेसँगै सल्यानमा गर्भपतन गराउने महिलाको सङ्ख्या बढ्दै गएको हो ।

स्वास्थ्य सेवा कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०७७/०७८ को साउन देखि फागुन मसान्तसम्म २ सय १५ जनाले गर्भपतन गराएका छन् । गत आर्थिक वर्षमा जम्मा २ सय ३३ जनाले गर्भपतन गराएका थिए ।

चालु आर्थिक वर्ष सकिन अझै चार महिना बाँकी रहँदा गत वर्षको तुलनामा यस वर्ष गर्भपतन गराउने महिलाको सङ्ख्यामा वृद्धि हुने अनुमान गरिएको स्वास्थ्य सेवा कार्यालय सल्यानका सूचना अधिकारी थलराज डिसीले जानकारी दिनुभयो । उहाँले भने ‘गर्भपतन कुनै घटना वा आकस्मिक अवस्थामा गराउने विषय भए पनि पछिल्लो समय विकृतिको रुपमा आउन थालेको छ ।’

चालु आर्थिक वर्षमा २० वर्ष मुनीका १० महिलाले गर्भपतन गराएका छन् भने २० वर्ष मुनीका २ सय ५ महिलाले गराएका छन् । जबकि गत आर्थिक वर्षमा २० वर्ष मुनीका १४ र २० वर्ष माथिका २ सय १९ महिलाले गर्भपतन गराएका थिए । सूचिकृत स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाबाट सुरक्षित गर्भपतन गराउने महिलाको सङ्ख्यामा वृद्धि हुनु आमाको स्वास्थ्यका हिसाबले चुनौती पूर्ण रहेको डिसीले बताए ।

परिवार नियोजनका थुप्रै साधनहरू हुँदाहुँदै गर्भवती हुनुले परिवार नियोजनका साधन प्रयोगमा कमी आएको पनि पुष्टि हुने उनको भनाई छ । उनले भने ‘परिवार नियोजनका साधन प्रयोग गर्ने भन्दा असुरक्षित यौन सम्पर्क गरी गर्भवती हुनुलाई विकृतिको रुपमा पनि लिन सकिन्छ ।’

सम्बन्धित महिलाको मन्जुरीबिना वा अन्य कुनै कारणबाट गर्भ रहन गएमा १२ हप्तासम्मको गर्भ स्वैच्छिक गर्भपतन गराउन सक्ने अधिकार २०६० को स्वास्थ्य नीति नेपाल सरकारले जारी गरेको छ ।

 

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button