तपाईँ सुन्दै हुनुहुन्छः

गाउँघर चिकित्सक कार्यक्रम अन्तर्गत बेलडाँडीमा स्वास्थ्य शिविर सञ्चालन

कञ्चनपुर । सुदूरपश्चिम प्रदेश सरकारको गाउँघर चिकित्सक कार्यक्रम अन्तर्गत कञ्चनपुरको बेलडाँडी गाउँपालिका स्थित बेलडाँडी प्राथमिक स्वास्थ्य केन्द्रमा द्विदिवसीय स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । बेलडाँडी गाउँपालिकासंगको समन्वयमा महाकाली अस्पतालले बेलडाँडी प्राथमिक स्वास्थ्य केन्द्रमा सोमबार स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।
उक्त शिविर मङ्गलवार पनि बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म जारी रहने महाकाली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशी बोक्सरले बताउनुभयो । उहाँका अनुसार, सोमबार मात्रै करिब २५० जनाले शिविरबाट स्वास्थ्य सेवा लिनुभएको छ । महाकाली अस्पतालमा कार्यरत एमडिजिपी चिकित्सक, स्त्री तथा प्रसूति रोग विशेषज्ञ र दन्त चिकित्सकहरूबाट दुई दिनसम्म स्वास्थ्य सेवा प्रवाह गर्न लागिएको हो ।
सोमबार बिहान शिविरको उद्घाटन गर्नुहुँदै बेलडाँडी गाउँपालिकाका अध्यक्ष धन बहादुर थापा क्षेत्रीले ग्रामीण क्षेत्रमा बिरामीहरूले शिविरबाट लाभ लिने विश्वास व्यक्त गर्नुभयो । जटिल स्वास्थ्य समस्याहरू समेत लुकाएर बस्नुपर्ने वा महँगो खर्चमा अन्यत्र उपचारका लागि जानुपर्ने बाध्यतालाई केही हदसम्म भए पनि स्वास्थ्य शिविरले समाधान गरेको सेवाग्राहीहरूको भनाइ छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button