तपाईँ सुन्दै हुनुहुन्छः

डडेलधुरामा विद्यालय प्रहरी साझेदार कार्यक्रम सुरु 

डडेलधुरा । डडेलधुरामा विद्यालय प्रहरी साझेदार कार्यक्रम आजबाट औपचारिक कार्यक्रमका बिच शुभारम्भ भएको छ ।
जिल्ला प्रहरी कार्यालय डडेलधुरा र माउन्टेन बहुमुखी क्याम्पसको संयुक्त आयोजनामा आज क्याम्पसको प्राङ्गणमा वरिष्ठ प्रहरी उपरीक्षक मुकेश कुमार सिंहले प्रहरी विद्यालय साझेदार कार्यक्रमका विषयमा जानकारी गराउनु भएको थियो ।
समाजमा भइरहेका अपराधका घटनालाई न्यूनीकरण गर्न विद्यार्थी प्रहरी साझेदार कार्यक्रम मार्फत अपराध न्यूनीकरण गर्न यो अभियान सञ्चालनमा ल्याएको प्रहरी उपरीक्षक सिंहले जानकारी गराउनुभयो । सूचना प्रविधि र सामाजिक सञ्जालका कारण आपराधिक घटनाहरू बढ्दै गइरहेकाले यस्ता अपराधीक घटनालाई रोक्नका लागी विद्यार्थी सचेतीकरण कार्यक्रम लागु गरिएको हो ।
सूचना प्रविधिले नयाँ नयाँ अपराध सिर्जना भइरहेको भन्दै वरिष्ठ उपरीक्षक सिंहले अपराधका घटनामा बिद्यार्थीहरु र आफ्नै नजिकका नातेदारबाट भइरहेको भन्दै यसको रोकथाममा समाजका हरेक नागरिक अगंहरु क्रियाशील बन्नुपर्ने धारणा राख्नुभयो ।
साइबरबाट हुने अपराधका घटनाहरू र यसको न्यूनीकरणका लागी विद्यार्थीले खेल्नुपर्ने भूमिका र सचेतीकरणका विषयमा प्रहरी उपरीक्षक बहादुर सिंह थापाले जानकारी गराउनुभयो ।
माउन्टेन क्याम्पसका अध्यक्ष इश्वरी प्रसाद जोशीको सभापतित्वमा सम्पन्न भएको अन्तर्क्रिया कार्यक्रममा अमरगढी नगरपालिकाका कार्यवाहक नगर प्रमुख खेमराज पाठक,पत्रकार महासङ्घका अध्यक्ष मानबहादुर साउद र क्याम्पस प्रमुख दुर्गादत्त चटौट लगायतले कार्यक्रमको औचित्यता र वर्तमान परिस्थितिमा यो अभियान सान्दर्भिक रहेको बताएका छन् । यो अभियानलाई जिल्लाका मावि स्कुल र क्याम्पसहरूमा अभियानका रुपमा अघि बढाइने डडेलधुरा प्रहरी नायब उपरीक्षक माधव नेपालले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button