तपाईँ सुन्दै हुनुहुन्छः

महिना दिनमै तयार भए दुई ओटा मोटरेबल पुल

इदिङ बासा खोलामा निर्माण सम्पन्न भएको पक्की पुल, फोटोः सन्तोष राउत
सोलुखुम्बु । सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका–२ मा २८ दिनभित्र दुई वटा मोटरेबल पक्की पुल निर्माण गरिएको छ । वेनी हाइड्रोपावर प्रा.ली.ले सामाजिक उत्तरदायित्व अन्तर्गत गत मङ्सिर १० गते शिलान्यास गरी पुस ८ गते दुई वटै पुल निर्माण सम्पन्न गरेको हो ।
निर्माण सम्पन्न भएका दुई वटै मोटरेबल पुलको बौद्ध परम्परा अनुसार उद्घाटन गरी सञ्चालनमा ल्याइएको छ । हाइड्रोपावरले जुनवेशी इदिङ बासा खोलामा ६८ लाख ३६ हजार २३७ रुपियाँ र मिन्जुङ खोलामा ११ लाख ९९ हजार १५८ रुपियाँको लागतमा आरसिसी पक्की पुलको निमार्ण कार्य सम्पन्न गरेको कम्पनीका प्रमुख पिजि शेर्पाले जानकारी दिनुभयो ।
उहाँका अनुसार जुनवेशी इदिङ बासा खोलाको मोटरेबल पुलको लम्बाई १३ मिटर, चौडाइ ५ मिटर र भारवहन क्षमता ४० टन तथा मिन्जुङ खोलाको पुलको लम्बाई ३ मिटर, चौडाइ ४.६ मिटर र भारवहन क्षमता ३० टन रहेको छ ।
सल्लेरी बेनी हुँदै लिखुपिके जोड्ने सडक खण्डमा पर्ने उक्त पुल निर्माण भएसँगै हिउँद वर्षा बाह्रै महिना सवारी सञ्चालन हुने भएपछि स्थानीय खुशी भएका छन् । जुनबेसी इदिङ बासा खोलामा मोटरेबल पुल नुहुँदा बेनी, जुनवेशी, टाक्टोर, ईदिङ तथा थुप्तेनछोलिङबासीलाई सदरमुकाम सल्लेरी तथा नगरपालिकाको कार्यालय आवतजावत गर्न सहज भएको छ ।
यसअघि वारी र पारी यातायातका साधन बदल्नुपर्ने बाध्यता थियो । उक्त खोलामा पुल नहुँदा हिउँदको समयमा खोलाबाटै सवारी सञ्चालन गर्ने भए पनि वर्षा याममा दुई वटा गाडी परिवर्तन गर्नुपरेको हो । पुल निर्माण भएसँगै उक्त बाध्यताको अन्त्य भएको छ ।
करिब ८० लाख रुपियाँको लागतमा दुई वटा पक्की मोटरेबल पुल निर्माण भएपछि स्थानीय अचम्मित बनेका छन् । विभिन्न स्थानमा सरकारले करोडौँ रकम खर्च गरेर सामान्य पुल निर्माण गरिरहेको अवस्थामा हाइड्रोपावरले ८० लाख ३५ हजार ३९६ रुपियाँको लागतमा छोटो समयभित्र दुई वटा पक्की पुल निर्माण भएको हो ।
निजी कम्पनीले एक महिना अगावै निर्माण सम्पन्न गरेर नमुना प्रस्तुत गरेको भन्दै सरकारी निकायले पनि पाठ सिक्नुपर्ने स्थानीय टाक्टोरका डम्बरे खातीको भनाई छ । उक्त पुल निर्माणमा आफु स्वयम् संलग्न रहेकाले गुणस्तरीयतामा कुनै कमजोरी नभएको वेनी हाइड्रोपावरका जनसम्पर्क अधिकृत फुदोर्जी शेर्पाले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button