तपाईँ सुन्दै हुनुहुन्छः

इलामबाट भित्र्याइएको अवैध सिक्किमे मदिरा बरामद

भद्रपुर, झापा । इलामको पशुपतिनगर नाकाबाट अवैध रुपमा नेपाल भित्राइएको भारतीय ब्रान्डका मदिरा झापा प्रहरीले बरामद गरेको छ ।
इलामबाट भारतीय मदिरा आइरहेको विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको टोलीले सोमबार राति मेची राजमार्ग अन्तरगत बुद्धशान्ति गाउँपालिका–४ स्थित बर्नेबाट बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
प्रहरीले चेकजाँच गर्ने क्रममा मे १ ज ३३५१ नम्बरको गाडीबाट सिक्किम गोल्डेन नामको मदिरा ८४ बोतल र फायरबल मदिरा ११ बोतल गरी ९५ बोतल बरामद गरिएको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिनुभयो ।
प्रहरीले मदिरासहित गाडीचालक इलामको सूर्योदय नगरपालिका २ बस्ने २८ वर्षीय प्रकाश खड्कालाई पनि नियन्त्रणमा लिएको छ । मदिरा र चालक खड्कालाई आवश्यक कारबाहीका लागि आन्तरिक राजश्व कार्यालय भद्रपुरमा बुझाइएको छ ।
इलामको पशुपतिनगर, छब्बिसे, हिले र झापाको तिरीङ, बाहुनडाँगी लगायतको सीमा नाकाबाट अवैध रुपमा भित्रिने भारतीय ब्रान्डका मदिरा झापाका विभिन्न बजारसहित भारतको विहारमा समेत पठाइने गरेको प्रहरी स्रोतको दाबी छ । भारतको विहारमा मदिरा प्रतिबन्ध रहेकोले नेपालको बाटो भएर लुकीछिपी जाने गरेको बताइन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button