तपाईँ सुन्दै हुनुहुन्छः

कपिलवस्तुको महाराजगञ्जमा दोस्रो राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता शुरु 

मनिष गुप्ता, कपिलवस्तु । कपिलवस्तुको महाराजगञ्ज नगरपालिकामा स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागी खेलकुद भन्ने नारा सहित दोस्रो राष्ट्रपति रनिङ्ग शिल्ड र मेयर कप प्रतियोगिता मङ्गलवारबाट शुरु भएको छ । नगरको वार्षिक कार्यक्रम अन्तर्गत प्रतियोगिता सुरु गरिएको नगरपालिका शिक्षा तथा खेलकुद शाखाले जनाएको छ ।
मङ्गलवार कार्यक्रमको उद्घाटन लुम्बिनी प्रदेश सभा सदस्य अर्जुन कुमार के.सी.ले गर्नु भएको छ । कार्यक्रमको उद्घाटन गर्दै प्रदेश सभा सदस्य के.सी.ले खेलकुदले  व्यक्तिलाई स्वास्थ्य राख्नुको साथै खेल कै माध्यमबाट राष्ट्रलाई विश्व सामु परिचित गराउन सकिने हुँदा खेलकुदलाई प्राथमिकता दिनु पर्ने बताउनु भयो ।  नगरपालिकाले खेललाई प्राथमिकता दिँदै ढिलै भए पनि प्रतियोगिता आयोजना गर्न सफल भएकोमा धन्यवाद दिनु भयो । विद्यार्थीलाई शारीरिक रुपमा तन्दुरुस्त राख्न मदत गर्ने हुँदा दैनिक रुपमा विद्यालयमा पनि खेलकुद खेलाउनु पर्ने बताउनुभयो ।
प्रतियोगिताको उद्घाटन सत्रमा नगर प्रमुख अब्दुल कलामले नगरपालिकाले विद्यालय स्तरीय खेलकुद प्रतियोगिता आयोजना गरी विद्यार्थीहरुलाई अतिरिक्त क्रियाकलापमा सक्रिय बनाउन सहयोग गर्ने बताउनुभयो । खेलकुदका माध्यमबाट विद्यार्थीलाई अनुशासित र  मर्यादित बन्न सहयोग पुग्ने मेयर कलामले बताउनु भयो । प्रतियोगितामा अनुशासित भएर खेल प्रदर्शन गर्न विद्यार्थीलाई आग्रह गर्नुभयो ।
राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता तर्फ नगरका ११ विद्यालयको सहभागिता रहेको शिक्षा तथा खेलकुद शाखा प्रमुख रेश्मीराज अर्यालले बताउनु भयो । यस्तै मेयर कप तर्फ ५ वटा विद्यालयको सहभागिता रहेको पनि उहाँले जनाकारी दिनुभयो । मङ्गलवारबाट सुरु भएको प्रतियोगिता ३ दिन सम्म चल्ने अर्यालले बताउनुभयो । उद्घाटन सत्रमा प्रतिस्पर्धी खेलाडीले मार्चपास, नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा वडा नं। ४ का अध्यक्ष सुशील कुमार चौधरी , झिन्ना माध्यमिक विद्यालय व्यवस्थापन समिति अध्यक्ष गंगेश तिवारी लगायतले शुभकामना मन्तव्य दिनु भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button