तपाईँ सुन्दै हुनुहुन्छः

रैथाने बाली जोगाउन पातारासीका सबै वडामा कृषि पकेट क्षेत्र

जुम्ला । जुम्लाको पातारासी गाउँपालिकाका सबै वडामा पकेट क्षेत्र घोषणा  गरिएको छ । वडाको उत्पादन ततथा अनुकुलताका आधारमा पातारासीका ७ वटै वडामा पकेट क्षेत्र घोषणा गरिएको हो । कृषि उत्पादनको उत्पादकत्व वृद्धि गर्न कृषिमा एकद्धार प्रणालीबाट विकास गर्न सबै वडामा पकेट क्षेत्र घोषणा गरिएको पातारासी गाउँपालिकाका अध्यक्ष लछिमन बोहोराले बताउनुभयो ।
उहाँका अनुसार पातारासीको वडा नंं. १ र २ मा फापर पकेट क्षेत्र घोषणा गरिएको छ । भने, वडा नं. ३ मा कालीमार्सी ,४ मा चिनो कागुनो, ५ मा सिमी, ६ मा फलफूल तथा तरकारी र ७ मा आलु र जौँ गहुँ पकेट क्षेत्र घोषणा गरिएको हो । पातारासी क्षेत्र आलु, मकै तथा फापर उत्पादनका हिसाबले आत्मनिर्भर क्षेत्र मानिने छ । पातारासीमा रहेका ३४ सय घरधुरी नै कृषि खेतीमा निर्भर रहेका छन् ।
पातारासी गाउँपालिका कृषि शाखा प्रमुख रूपक बुढाले जुन वडामा जुन कृषि बस्तु बढी उत्पादन हुन्छ सोही आधारमा पकेट क्षेत्र बनाइएको जानकारी दिनुभयो ।  पकेट क्षेत्र निर्धारणले किसानलाई कृषिप्रति लगाव बढ्ने उत्पादकत्व पनि वृद्धि हुने आशा गरिएको उहाँको भनाई छ । पकेट क्षेत्र निर्धारणले रैथाने बालीको उत्पादन बढ्ने आशामा स्थानीय किसान विष्णु बुढा छन् । कुपोषणलाई घटाउन, मातृ शिशुको सुरक्षा गर्न अर्ग्यानिक कृषि बस्तुको प्रयोग आवश्यक रहेकोले उत्पादन वृद्धिमा जोड दिन पकेट क्षेत्र कोशे ढुङ्गा साबित हुने किसान बुढाको भनाई छ ।
परम्परा खेतीले श्रम बढी लाग्ने र उत्पादन कम हुने समस्या भएकोले पकेट क्षेत्र अनुसार आधुनिक खेती प्रविधिबारे किसानलाई अभिमुखीकरण गराइएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत टेक बहादुर बुढथापाले बताउनुभयो ।
लोपोन्मुख रैथाने बालीको संरक्षणका साथै स्थानीयको आर्यआर्जन वृद्धिका लागि पनि पकेट क्षेत्र निर्धारण गरिएको बुढ्थापाले उल्लेख गर्नुभयो ।  पकेट क्षेत्रको निरन्तरता र उत्पादन वृद्धिका लागि गाउँपालिकाले आवश्यकता अनुसार बजेट विनियोजन गर्ने तयारी गरेको प्रमुख प्रशासकीय अधिकृत बुढ्थापाको भनाई छ ।
साथै पातारासीस्थित नमुना सहकारी संस्थाकी अध्यक्ष रमा भण्डारीले पकेट क्षेत्रको माध्यमबाट रैथाने बालीमा स्वयम किसान नै जुट्नु पर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो,“पकेट क्षेत्रबाट उत्पादित आलु, तरकारी, चामल, मकै, कोदोको बजारीकरणलाई सहज बनाउन समेत स्थानीय सरकार गम्भीर हुनु पर्छ । भने,रैथाने बालीमात्रै उत्पादन गर्ने आयातित बस्तु खाने बानीको अन्त्य गर्नुपर्छ ।”
पातारासी गाउँपालिकाले प्राङ्गारिक खेतीका लागि जैविक विषादी बनाउने र मल बनाउने तालिम किसानलाई प्रदान गर्दै आइरहेको छ । प्राङ्गारिक खेती गर्दा जग्गा बिग्रँदैन । वातावरण पनि सफा हुन्छ,हाम्रो स्वास्थ्य पनि स्वास्थ्यकर हुन्छ, कृषि शाखा प्रमुख बुढा भन्छन्,“सके सम्म गोठे मलको प्रयोग गरौँ । यदि गोठे मलको सम्भावना हुन नसकेको खण्डमा खाडल खनेर अर्ग्यानिक मल बनाउन सकौँ । रैथाने बालीको उत्पादन गर्न सके बजारीकरणका लागि स्थानीय सरकार तयार छ ।”
तस्बिरमा पकेट क्षेत्र निर्धारण गरिएको पातारासीमा उत्पादन हुने विभिन्न अन्नबाली, फोटोः सागर परियार 

प्रतिक्रिया राख्नुहोस्

Back to top button