तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश २ प्रमुख डा.अहिराजद्वारा बैंकर्सहरुसँग छलफल

जनकपुरधाम । प्रदेश २ का प्रदेश प्रमुख डा. राजेश अहिराजले नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीसहित सबै बैङ्कका प्रमुखहरूसँग छलफल गर्नु भएको छ  ।
मङ्गलवार प्रदेश २ को कार्यालयमा आयोजित एक कार्यक्रमका बिच प्रदेश प्रमुख डा.अहिराजले प्रदेश २ अविकसित नभई अव्यवस्थित रहेको भन्दै बैंकर्सहरुलाई ध्यानाकर्षण गराउँदै जनतालाई बैङ्कसँग सहज पहुँचका लागि आग्रहसमेत गर्नु भएको छ ।
उहाँले प्रदेश २ को गाउँ–गाउँमा बैङ्कको शाखा कार्यालय खोलिनुपर्ने बताउँदै भन्नुभयो, ‘जनतालाई बैङ्कका लागि एक गाउँबाट अर्को गाउँमा जान नपरोस्, त्यसका लागि गाउँ–गाउँमा बैङ्कको स्थापना हुनुपर्छ ।’ बैङ्कहरूले राष्ट्रिय उत्पादनलाई प्रोत्साहनका लागि विशेष भूमिका खेल्न सक्ने पनि औँल्याउनु भएको छ ।
उहाँले कुनै व्यापारीलाई ऋण दिँदा उसले विदेशबाट सामान ल्याएर बेच्ने तर आफ्नै किसानले उत्पादन गरेको वस्तु बजार नपाउँदा राष्ट्रिय उत्पादनप्रति किसानको मनोबल टुट्ने गरेको प्रति ध्यानाकर्षण गराएको प्रदेश २ प्रमुख कार्यालयका प्रोटोकल अधिकृत विशेष साहले जानकारी दिनुभयो । ‘बैङ्कलाई कृषिसँग जोड्न सकियो भने किसान पनि समृद्ध हुने र देशले विकासमा ठुलो फड्को मार्न सक्छ ।’ प्रदेश प्रमुखले विचार राखेको प्रोटोकल अधिकृत साहले बताउनुभयो ।
युवा शक्ति विदेशिनु परेकोले ती युवाहरूलाई स्वदेशमै रोक्नका लागि पनि बैंकिङ्ग क्षेत्रले ठुलो योगदान दिन सक्ने कुरा प्रदेश प्रमुखले औँल्याउनु भएको थियो । आफ्नै देशमा केही गर्न सक्ने युवाहरू पैसाको अभावमा विदेशिनु परेको जानकारी गराउँदै त्यस्ता युवा शक्तिलाई बैङ्कले सहुलियतमा ऋण उपलब्ध गराउनुपर्ने धारणा उहाँले राख्नु भएको थियो ।
प्रदेश प्रमुख डा.अहिराजसँगको भेटघाटमा नेपाल राष्ट्र बैङ्कका गभर्नर अधिकारी, कृषि विकास बैङ्क लिमिटेडका सिइओ अनिल कुमार उपाध्याय, नेपाल बैङ्क लिमिटेडका सिइओ कृष्णबहादुर अधिकारी, नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष तथा सानिमा बैङ्कका सीइओ भुवन कुमार दाहालको उपस्थिति थियो । यसै गरी, प्रदेश नं. २ मा रहेका प्रत्येक बैङ्कका प्रादेशिक प्रमुखहरूको समेत उपस्थिति रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button