तपाईँ सुन्दै हुनुहुन्छः

बिहानदेखि अवरुद्ध कैलालीको लम्कीस्थित पूर्व पश्चिम राजमार्ग सुचारु

टीकापुर, कैलाली । आज बिहानदेखि अवरुद्ध कैलालीको लम्की स्थित पूर्व पश्चिम राजमार्ग अहिले साँझ पौने ५ बजेबाट खुलेको छ । आज बिहान पूर्वपश्चिम राजमार्ग अन्तरगत लम्की चोकस्थित टीकापुरतर्फ जाँदै गरेको ना ६ ख ८८३३ नम्बरको बसको ठक्करबाट पैदल यात्री लम्कीचुहा नगरपालिका–१ की २२ वर्षीया कमला देवकोटाको मृत्यु भएपछि स्थानीय राजमार्ग अवरुद्ध गरेका थिए ।
सडक अवरुद्ध गरी स्थानीयले प्रदर्शन गर्ने क्रममा प्रहरीले गोली चलाउँदा लम्कीका ३० वर्षीय कृष्ण प्याकुरेल र १८ वर्षीय दिपक सन्ज्याल घाइते भएका थिए । गोली लागि घाइते भएका दुवै जनालाई नेपाली सेनाको हेलिकोप्टर मार्फत थप उपचारका लागि काठमाडौँ लगिएको इलाका प्रहरी कार्यालय लम्कीले जनाएको छ ।
प्याकुरेलको पेटमा र सन्ज्यालको खुट्टामा गोली लागेको छ । स्थानीयले राजमार्ग अवरुद्ध पार्नुका साथै टायर बालेर प्रदर्शन गरेका थिए भने इलाका प्रहरी कार्यालय घेराउ गर्दै प्रहरीमाथि आक्रमण गर्न थालेपछि गोली चलाउन बाध्य भएको प्रहरीले जनाएको छ । मृतकको शव पनि पोष्टमार्टमका लागि टीकापुर अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button