तपाईँ सुन्दै हुनुहुन्छः

डिजिटल नेपाल बनाउने अभियान पुरा गर्न प्रदेश २ मा क्यू आर कोर्डको वितरण

जनकपुरधाम । नेपाल बैंकर्स सङ्घको अगुवाइमा प्रदेश नंं २ को राजधानी जनकपुरधाममा डिजिटल बैंंकिङ्ग अभियानलाई मूर्तरूप दिन २७ वटा बैङ्कहरूले आजबाट आफ्ना ग्राहकहरूलाई क्यु आर कोडको वितरण अभियानको शुभारम्भ गरेको छ ।
नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीको उपस्थितिमा प्रदेश नंं २ का सामाजिक विकास मन्त्री नवल किशोर साहले क्यू आ कोर्डको वितरणको शुभारम्भ गर्नु भएको छ ।
जनकपुरधाम तथा जिल्लामा शाखा भएका बैङ्कहरूले अभियानको शुरुवात गरेर प्रदेशको सबै जिल्लाहरूमा विस्तार गर्ने नीति लिएको बैंकर्स सङ्घले जनाएको छ ।
कार्यक्रममा बोल्दै प्रदेश नंं २ का सामाजिक विकास मन्त्री नवल किशोर साहले डिजिटल बैंकिङ्गको अवधारणा पुरा गर्नका लागि क्यू आर कोर्डको वितरण निक्कै महत्त्वपूर्ण भएको बताउँदै यसले नगद बोक्नु पर्ने अवस्थाको अन्त्य हुने बताउनुभयो ।
उहाँले बैङ्क तथा वित्तीय संस्थाहरूले विद्युतीय कारोबार शुरु गरेको यतिका दिनपछि ग्राहकलाई थप सुविधा प्रदान गर्ने नीतिको सराहना गर्दै बैङ्क तथा वित्तीय संस्थाहरूलाई कर्जा प्रवाहमा सहुलियत ब्याजदरमा उपलब्ध गराउनका लागि आग्रह गर्दै यसले आर्थिक गतिविधिमा अझै तीव्रता आउने बताउनुभयो ।
अहिले कर्जाको प्रक्रिया निक्कै झन्झटिलो भएका कारणले व्यापारीहरू दुःख पाउने गरेको चर्चा गर्दै यसमा सरलीकरण गर्नका लागि नेपाल राष्ट्र बैकलाई समन्वय गर्न तथा आवश्यक निर्देशन दिनका लागि मन्त्री साहले आग्रह गर्नुभयो ।
नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले नेपाल सरकारले डिजिटल नेपाल बनाउने अभियान पुरा गर्नका लागि यस अभियानले थप मद्दत पुग्ने बताउँदै पवित्र अभियानलाई पुरा गर्नका लागि नेपाल राष्ट्र बैङ्क लागि परेको बताउनु भयो । उहाँले ग्राहलाई रकम बोकेर हिडदा हराउने तथा लुटिने जस्ता जोखिममा कमी आउने बताउनुभयो ।
जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहले बैङ्क तथा वित्तीय संस्थाहरूले तराई मधेशका जिल्लाहरूमा सहुलियत दरमा कर्जा प्रवाह गरेर उत्पादन तथा उत्पादकत्वको वृद्धिमा सहयोग गर्नका लागि आग्रह गर्नु भयो ।
नेपाल बैंकर्सं संघका केन्द्रीय अध्यक्ष भुवन दहालले प्रदेश नंं २ को अधिकांश पालिकाहरूमा बैङ्क सञ्चालन भएको बताउँदै बैङ्क पुग्ने ठाउँमा आर्थिक गतिविधिले स्वतः तीव्रता पाउने गरेको बताउनुभयो । कार्यक्रममा जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष ललित साह तथा संघका उपाध्यक्ष अनिल शर्माले पनि क्यू आर कोर्डको महत्त्व माथि प्रकाश पार्नु भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button