तपाईँ सुन्दै हुनुहुन्छः

कोरोना संक्रमण बढ्दै गएपछि २५ जना भन्दा बढी भेला हुन बन्देज, उच्च सतर्कता अपनाउन प्रशासनको आग्रह

वीरगंज । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र पर्साको आज सम्पन्न बैठकले कोरोना संक्रमण बढ्दै गएको भन्दै पर्सा तथा वीरगंजमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
पर्साका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङको अध्यक्षतामा आज जिल्ला प्रशासन कार्यालय पर्सामा सम्पन्न बैठकले विगत केही समय यता वीरगंज लगायत पर्सा जिल्लामा कोरोना संक्रमण बढ्दै गएको हुँदा यसलाई दृष्टिगत गर्दै भेला सम्मेलन गोष्ठी, सभा गर्दा २५ जना भन्दा बढी व्यक्ति एक स्थानमा  जम्मा हुन नपाउने निर्णय गरेको छ ।
छिमेकी मुलुक भारतमा कोरोना सङ्क्रमण बढ्दै जाँदा खुला सीमाको कारण पर्सामा सम्भावित जोखिमलाई मध्यनजर गर्दै भिडभाड हुने कार्यक्रम नगर्न आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी तामाङ्गले बताउनुभयो ।
बैठकले भौतिक दुरी कायम गर्न तथा मास्क र स्यानिटाइजर अनिवार्य प्रयोग गर्न सर्वसाधारण तथा जिल्लावासीलाई आग्रह गरेको छ ।
यसै गरी बैठकले  यस वर्षको होली पर्व घरमै बसेर मनाउन जिल्लावासीलाई आग्रह गरेको प्रमुख जिल्ला अधिकारी तामाङ्गले बताउनुभयो ।
बैठकले खुला सीमाको कारण भारतमा बढ्दै गएको कोरोना संक्रमण भित्रिन सक्ने प्रति सचेत रहन जिल्लावासीलाई आग्रह गर्दै सीमा नाकामा उच्च सतर्कता अपनाउने तथा भारतबाट भित्रिने यात्रुहरूको सीमा नाकामा नै प्रारम्भिक स्वास्थ्य परीक्षण गरी शङ्कास्पद व्यक्तिको कोरोना परीक्षण गर्ने निर्णय गरेको छ ।
बैठकमा वीरगंज महानगरपालिकाका नगर प्रमुख विजय सरावगी, जिल्ला समन्वय समिति पर्साका अध्यक्ष नेक महम्मद अन्सारी, जिल्ला स्थित स्थानीय तहका प्रमुखहरू, सुरक्षा निकायका प्रमुखहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button