तपाईँ सुन्दै हुनुहुन्छः

आत्महत्या दर प्रत्येक वर्ष ८ प्रतिशतले बढ्दै

काठमाडौँ । नेपालमा आत्महत्या विकराल समस्याका रुपमा बढ्दै गएकाले आत्महत्या नियन्त्रणमा परिवार, विद्यालय, समाज तथा राज्यले हातेमालो गर्नु पर्नेमा काठमाडौँमा आज आयोजित एक कार्यक्रममा जोड दिइएको छ ।
मनोसामाजिक क्षेत्रमा क्रियाशील सिएमसियस नेपाल नामक संस्थाले आयोजना गरेको कार्यक्रममा विज्ञहरूले हरेक दिन नेपालमा सामान्य अवस्थामा १४ देखि १६ जनाले आत्महत्या गरी देह त्याग गर्ने गरेको र कोभिड १९ का कारण त्यो सङ्ख्या दैनिक २० सम्म पुगेकाले गम्भीर हुन जरुरी रहेको औँल्याउनु भयो । नेपालमा आत्महत्या दर प्रत्येक वर्ष ८ प्रतिशतले बढ्दै गएको पनि जानकारी गराइयो ।
विज्ञहरूले आत्महत्या गरी मृत्युवरण गर्नेहरूमा १५ देखि २९ वर्ष उमेरका मानिसको सङ्ख्या अधिक रहेको जानकारी दिनुहुँदै आत्महत्या विशेष मानसिक अवस्थाको उपज भएकाले अभिभावक, शिक्षक, साथीभाई, आमसञ्चार माध्यमलगायतले समस्या बुझ्ने तथा सचेतना वृद्धिमा भूमिका खेल्नु पर्ने बताउनुभयो ।
कार्यक्रममा मानसिक रोग विशेषज्ञ डा. रितेश थापाले आमसञ्चार माध्यमका लागि नेपाल चिकित्सक सङ्घ र प्रेस काउन्सिल नेपालले आत्महत्यासम्बन्धी समाचार लेखन सम्वन्धी निर्देशिका ल्याउने तयारी गरेको जानकारी दिनुभयो ।
कार्यक्रममा वरिष्ठ मनोसामाजिक चिकित्सक पशुपति महतले प्रत्येक आत्महत्याको घटना १० देखि ४० पटक सम्मको प्रयासमा मात्र सफल हुने भएकाले आफन्तहरु संगको सम्बन्ध मजबुत बनाउनाका साथै समस्या पहिचान गरेर जीवन बचाउनु पर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button