तपाईँ सुन्दै हुनुहुन्छः

उपत्यकामा ४२ हजार घरहरूमा स्मार्ट विद्युतीय मिटर जडान

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले काठमाडौँ उपत्यकाको भित्री मुख्य शहरी क्षेत्रका ४२ हजार घरहरूमा स्मार्ट विद्युतीय मिटर जडान सम्पन्न गरेको जनाएको छ ।
प्राधिकरणको स्मार्ट मिटर जडान आयोजनाले पहिलो चरणमा चालू आर्थिक बर्ष भित्रमा ९८ हजार घरहरूमा स्मार्ट मिटर जडान गर्ने योजना अनुसार स्मार्ट मिटर जडानको काम भइरहेको आयोजनाका प्रमुख रोशन न्यौपानेले जानकारी दिनुभयो ।
कोरोना तथा अन्य कुनै समस्या उत्पन्न नभएमा आगामी ३ महिना भित्रमा ९८ हजार स्मार्ट मिटर जडान गरिसक्ने लक्ष्य रहेको आयोजना प्रमुख न्यौपानेले बताउनुभयो ।
आयोजनाले हाल रत्नपार्क र महाराजगञ्ज वितरण केन्द्र अन्तर्गतका रत्नपार्क, नक्साल, महाराजगंज र बुढानीलकण्ठ क्षेत्रका पुराना मिटरहरूलाई हटाएर अत्याधुनिक प्रविधिमा आधारित स्मार्ट मिटरहरू निःशुल्क रुपमा जडान गरिरहेको जनाएको छ ।
नयाँ स्मार्ट मिटरको जडान पछि विद्युत्का उपभोक्ताहरू विद्युत्को महशुल तिर्न विद्युत् कार्यालयसम्म पुग्न नपर्ने भएको छ । स्मार्ट मिटर जडान गरेका ग्राहकहरूको विद्युत्को विल आफ्नो मोबाइलमा एसएमएस वा इमेल मार्फत पठाउने व्यवस्था गरिएको छ । स्मार्ट मिटर जडान पछि मिटर रिडरहरु घरघरमा जान नपर्ने भई जनशक्ति खपत पनि कम प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button