तपाईँ सुन्दै हुनुहुन्छः

बागलुङमा बाढीग्रस्त क्षेत्रका ९ झोलुंगे पुल बन्ने


बागलुङ । गत वर्षको बाढी र पहिरोले क्षति पुगेका बागलुङका ९ वटा झोलुंगे पुल निर्माण गर्न डिपिआर निर्माण गरिएको छ । ती पुलको लागत स्टिमेट भैसकेकोले गृह मन्त्रालयको राष्ट्रिय बिपत् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले संघिय मामिला मन्त्रालयमा बजेट बिनियोजनका लागि पत्राचार गरेको छ । प्राधिकरणका शाखा अधिकृत भीमराज बस्नेतले आवस्यकता अनुसारका पुल बनाउन बजेट माग गरिएको बताउनुभयो ।

जिल्ला बिपत् व्यवस्थापन समितिको निर्णय र जिल्ला प्रशासनले गत माघ २ गते पठाएको पत्रअनुसार ती पुल निर्माणका लागि गृहले माग गरेको हो । ती पुल अभावमा स्थानीयले सास्ती खेपेका छन् ।

सिफारिसमा परेकामध्ये ढोरपाटन नगरपालिका वडा नं. ३ फर्साहघाटमा २ सय ४३ मीटर लामो पुल बनाउनु पर्ने देखिएको हो । उक्त पुलका लागि २० लाख १९ हजार लागत स्टिमेट पठाइएको छ ।

त्यस्तै, वडा नं. ८ को नौघरटोलमा १ सय ४६ मीटर लामो पुलका लागि १० लाख ३३ हजार, तमानखोला गाउँपालिका वडा नं. ४ को ठूलोखोला दमाइखर्क जोड्न १२२ मीटर पुल निर्माण गर्न ७१ लाख ५२ हजार स्टिमेटसहितको माग भएको हो ।

तमानखोलाकै नर्जाखोलामा २ सय ८७ मीटर लामो पुल बनाउन ३ करोड १६ लाख लाख ७३ हजार, ढोरपाटनको भैसीखर्कमा २ सय १८ मीटर पुलका लागि १ करोड ९७ लाख, निसीखोलाको हर्पे पुलका लागि ४ करोड ९० लाख ५९ हजार, निसीकै कान्लेचौरमा २ सय २४ मीटर लामो पुलका लागि २ करोड १४ लाख माग गरिएको छ ।

त्यसैगरी, बडिगाड गाउँपालिकाको निगलपानीदेखि दर्लीङ माबिसम्मको ३ सय ११ मीटर लामो पुल बनाउन ४ करोड २ लाख २४ हजार र बाढी र पहिरोले अघिल्ला वर्षदेखि नै क्षति पुगेको बुर्तिवाङ बजार संरक्षणका लागि ८२ लाख ३५ हजार रुपैयाँ माग गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button