तपाईँ सुन्दै हुनुहुन्छः

श्रीमानसँगै होटलमा बसेकी महिला मृत फेला

जनकपुरधाम। जनकपुरधामस्थित एक होटेलमा विगत दुईदिनदेखि आफ्नो श्रीमानसँगै बसेकी एक महिला मृत अवस्थामा फेला परेकी छन् ।

मृत फेला परेकामा म्याग्दी जिल्लाको तत्कालीन भिम गाविस बस्ने वर्ष ३० की सृजना सुनार श्रीपाली रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । श्रीपालीको शव होटेलको छेउमै रहेको खानेपानी संस्थान जनकपुरको कम्पाउण्डमा आधा शरिर पानीमा र आधा शरीर बाहिर रहेको अवस्थामा खाण्डो भित्र फेला परेको प्रहरीले जनाएको छ ।

यातायात व्यवस्था कार्यालय जनकपुरमा स्कुटीको लाइसेन्स बनाउन श्रीमान्सँगै म्याग्दीबाट जनकपुरधाम आएकी श्रीपाली दुईदिन पश्चात् मृत अवस्थामा भेटेकी प्रहरीले जनाएको छ । यस सम्बन्धमा मृतकका श्रीमान् विश्वास श्रीपालीले आफूहरु विगत दुई दिनदेखि बसिरहेको रामानन्द चोकस्थित होटलको पाँचौ तल्लाबाट गएराती उनले हाम फालेर आत्महत्या गरेको दावी गरेका छन् ।

राति १२ बजेसम्म हामीहरु गफगाफ गरेर सुत्यौँ । बिहान करिव साढे ३ बजेको समयमा अचानक ब्युँझिदा सृजनालाई नदेखेपछि खोज्न थालेपछि उनको शव होटेलको छेउमै रहेको खानेपानी संस्थानको कम्पाउण्ड भित्र खाण्डोमा फेला परेको बताएका छन् ।

विश्वासले आफू ११ दिन अघिमात्र विदेशबाट फर्केको प्रहरी समक्ष बताएका छन् । सृजना आफैले हाम फालेर आत्महत्या गरेको वा उनलाई कसैले मारेको हो कि भन्ने विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरिक्षक मकेन्द्र कुमार मिश्रले जानकारी दिनुभयो ।

उता धनुषा प्रहरीले अनुसन्धानका लागि मृतकका माईतिपक्षलाई बोलाएको र श्रीमानसंग पनि सोधपुछ गर्ने काम भएको मिश्रले जानकारी दिनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button