तपाईँ सुन्दै हुनुहुन्छः

आलुको उचित मूल्य नपाउँदा किसान मारमा

file photo

सर्लाही। उत्तर–पश्चिम क्षेत्रमा सयौं हेक्टरमा उत्पादन भएको आलुले उचित मूल्य नपाउँदा किसान मारमा परेका छन् । किसानले प्रतिकिलो ७०/८० रुपैयाँमा बीउ किनेर रोपेको आलु अहिले १५ रुपैयाँमा बिक्री गरेका छन् । छिमेकी मुलुक भारतबाट बजारमा सस्तो मूल्यमा आलु भित्रिएकाले यस क्षेत्रका किसानले उत्पादन गरेको आलुले भाउ नपाएको हो ।

लामो समयदेखि व्यावसायिक रुपमा आलुखेती गर्दै आएको वाग्मती नगरपालिका–७ राजघाटका रामप्रवेश महतोले यसवर्ष दुई बिघा क्षेत्रफलमा आलुखेती गरेका छन् । उनले खेतबाट नै व्यापारीलाई प्रतिकिलो १५ रुपैयाँ आलु बिक्री गरेका छन् । महतोले दुई बिघामा लगाएको आलुबाट गत वर्ष छ लाख १६ हजार रुपैयाँ आम्दानी गरेका थिए । यस वर्ष तीन लाख ५० हजार रुपैयाँमा चित्त बुझाउनुपरेको उहाँले बताउनुभयो । महतोका अनुसार यसवर्ष प्रतिकट्ठा १० हजार रुपैयाँसम्म खर्च भएको छ ।

त्यस्तै, बरहथवा नगरपालिका–२ हजरियाका किसान चन्द्रप्रसाद वाग्लेले यसवर्ष आलु खेतीबाट लागत उठाउनसमेत मुस्किल परेको गुनासो गरे । ‘‘गत वर्ष प्रतिकिलो २५ रुपैयाँमा बिक्री गरेका थियौँ’’, उहाँले भन्नुभयो, “यो वर्ष १५ रुपैयाँमा बेच्नु प¥र्यो, लागत र परिश्रम उठेन ।” आलु लगाउने समयमा कालोबजारीमा युरिया मल प्रतिबोरा एक हजार ४०० देखि एक हजार ८०० रुपैयाँसम्म किनेको उहाँको भनाइ छ ।

उहाँका अनुसार भण्डारण स्थलको अभावमा किसानले खेतबाट नै आलु बिक्री गर्न बाध्य भएका छन् । सर्लाहीमा हजरिया, राजघाट, बरहथवा, शङ्करपुरलगायतका क्षेत्रमा व्यावसायिक रुपमा आलुखेती हुने गरेको छ । यस क्षेत्रमा लालगुलाब, कुप्रिसिन्दुरे, विविरे र कोमल जातको आलुको खेती गरिन्छ । जिल्ला कृषि ज्ञान केन्द्रका अनुसार जिल्लाभर करीब एक हजार ४०० हेक्टरमा आलुखेती हुने गरेको छ । यस वर्ष मात्र तीन लाख ५२ हजार २०० क्विन्टल आलु उत्पादन हुने ज्ञान केन्द्रले जनाएको छ ।

यस क्षेत्रका किसानले मकैलगायतको बालीमासमेत घुसुवा बालीको रुपमा आलु उत्पादन गर्दै आएका छन् । सर्लाहीमा उत्पादित आलु वीरगञ्ज, रौतहटको चन्द्रपुर, बाराको कलैया लगायतको स्थानमा शीत भण्डारणको लागि लैजानुपर्ने बाध्यता रहेको बरहथवा–२ हजरियाका किसान महेश बरालले गुनासो गर्नुभयो ।

गोलभेँडाले पायो उचित मूल्य

जिल्लाका किसानले उत्पादन गरेको गोलभेँडाले सिजनको अन्तमा मूल्य पाएको छ । केही हप्तादेखि अचानक मूल्यमा ओरालो लागेको गोलभेँडाले सिजनको अन्त्यमा फेरि भाउ पाएको भन्दै जिल्लाका तरकारी उत्पादक किसान खुशी भएका छन् ।

जिल्लाको लालबन्दी नगरपालिका–७ मा रहेको लालबन्दी तरकारी बजारमा स्थानीय जातको गोलभेँडा प्रतिक्रेट रु २५० देखि रु ३०० र उन्नत जातको गोलभेँडा रु ४०० मा बिक्री भइरहेको कृषि बजार व्यवस्थापन समिति लालबन्दीका अध्यक्ष रामदरेश चौधरीले बताउनुभयो । “केही दिन अगाडि सोही बजारमा प्रतिक्रेट रु १५० देखि रु २००मा गोलभेँडा बिक्री भइरहेको भए पनि सिजनको अन्त्यमा गोलभेँडाको बजार मूल्य अकाशिएको”, कृषि बजार व्यवस्थापन समिति लालबन्दीका व्यवस्थापक शम्भु घिमिरेले बताउनुभयो ।

गोलभेँडाको मूल्य बढेपछि तरकारी उत्पादक किसान खुशी भएका छन् । गोलभेँडाको मूल्य घटेपछि आफ्नो लगानीसमेत नउठ्ने चिन्तामा परेका यस क्षेत्रका किसान यामको अन्त्यमा भए पनि गोलभेँडाको मूल्य बढेपछि दङ्ग परेका छन् ।

यामको शुरुआतमा किसानले प्रतिक्रेट रु एक हजारसम्म गोलभेँडाको मूल्य पाएका थिए । त्यसपछि विस्तारै भाउ घट्दै गएको व्यवस्थापक घिमिरेले बताउनुभयो ।

जिल्लाको लालबन्दी, हरिपुर, बयलवास र हरिवन नगरपालिकाका स्थानीयवासी तरकारी उत्पादक किसानले व्यावसायिक रुपमा गोलभेँडाको खेती गर्ने गरेका छन् । यहाँबाट उत्पादन भएका गोलभेँडा काठमाडौँ, पोखरा, विराटनगरलगायत देशका विभिन्न ठूला शहरको साथै छिमेकी देश भारतको सीतामाढीसम्म निर्यात हुँदै आएको घिमिरेले बताएका छन् ।रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button