तपाईँ सुन्दै हुनुहुन्छः

पर्वतमा १२ औँ चरणमा हात्तीपाइले विरुद्धको औषधी खुवाइँदै 

पर्वत ।  पर्वतमा हात्तीपाइले रोग विरुद्धको १२औँ चरणको आम औषधी खुवाउने अभियान सुरु गर्ने तयारी गरिएको छ ।

११ औँ चरणसम्म औषधी खुवाउँदा पनि हात्तीपाइले रोगको सङ्क्रमण न्यूनतम एक प्रतिशतमा नझरेपछि यस वर्ष पनि आम औषधी खुवाउन थालिएको हो ।

स्वास्थ्य कार्यालय पर्वतले चैत २० गतेदेखि १२ औँ चरणको औषधी खुवाउने अभियान सुरु गर्न थालेको तथ्याङ्क अधिकृत प्रवीण भण्डारीले जानकारी दिनुभयो ।

जिल्लाको कुश्मा नगरपालिका–१ पाङ र फलेवास नगरपालिका–५ खानी गाउँमा हालै गरिएको समुदायमा गरिएको परीक्षणमा सङ्क्रमण कायमै रहेको पाइएपछि जिल्ला भरी नै औषधी ख्वाउनुपरेको भण्डारीले जानकारी दिनुभयो ।

यस चरणमा जिल्लाका एक लाख २५ हजार १ सय ५९ जनालाई औषधी ख्वाउने भएको छ । औषधी खुवाउनका लागि स्वास्थ्यकर्मीहरू परिचालन गर्ने तयारी भएको छ ।

जिल्लाका सबै वडामा एकै दिन अभियान सुरु गरेर बढीमा एक हप्ताभित्र खुवाइसक्ने लक्ष्य रहेको भण्डारीले बताउनुभयो ।

हात्तीपाइले रोगको संक्रमण जिल्लामा अहिले पनि ५ प्रतिशतभन्दा बढी देखिएको छ । स्वास्थ्य कार्यालय सँगै सात वटै स्थानीय तहले औषधी ख्वाउने कार्यक्रमको तयारी पुरा गरेको जनाएका छन् ।

औषधी वितरण गरे पनि सर्वसाधारणहरुले सेवन नगर्ने समस्या रहेको स्वास्थ्यकर्मीहरुले बताउँदै आएका छन् । औषधी नखाने समस्या देखिएपछि गत वर्ष देखि स्वास्थ्यकर्मीकै निगरानीमा औषधी खुवाउन थालिएको थियो ।

यस वर्ष पनि स्वास्थ्यकर्मीको निगरानीमा औषधी खुवाइने पर्वत अस्पतालका प्रमुख डा.डिवी क्षेत्रीले जानकारी दिनुभयो ।

क्षेत्रीले औषधी खुवाउने अभियानलाई सबैले सहयोग गर्ने र पर्वतमा अर्को चरणमा औषधी खान नपर्ने गरी सबै संयन्त्र लाग्नुपर्ने डा. क्षेत्रीले बताउनुभयो ।

पर्वतमा सन् २०१० देखि हात्तीपाइले विरुद्धको औषधी खुवाउने अभियान सुरु भएको थियो । आम औषधी सेवन गर्ने दर ७५ प्रतिशत रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button