तपाईँ सुन्दै हुनुहुन्छः

दुई वर्षदेखि एम्बुलेन्स विहीन जिल्ला अस्पताल सल्यान

सल्यान । जिल्ला अस्पताल दुई वर्ष अघि एम्बुलेन्सको इन्जिन नै बिग्रिएपछि अस्पतालमै थन्किएको छ ।

विगत दुई वर्षदेखि बिग्रिएको एम्बुलेन्स मर्मत नहुँदा अस्पताल एम्बुलेन्स विहीन भएको छ ।

बिरामीको भीड लाग्ने जिल्ला अस्पतालमा एम्बुलेन्स नहुँदा बिरामीहरूले सास्ती भोग्दै आइरहेका छन् ।

पुरानो एम्बुलेन्स मर्मत गर्ने पैसाले नयाँ एम्बुलेन्स आउने तर एम्बुलेन्स किन्न आर्थिक अभाव भएको स्वास्थ्य सेवा कार्यालय सल्यानका व्यवस्थापक दशरथ श्रेष्ठले बताउनुभयो ।

उहाँले भन्नुभयो, न त हामीसँग पुरानो एम्बुलेन्स मर्मत गर्ने पैसा नै छ न त नयाँ नै किन्ने रु प्रदेश सरकारलाई एम्बुलेन्सको व्यवस्था गरिदिन आग्रह गरेका छौँ ।

आफ्नै एम्बुलेन्स नहुँदा अन्य स्थानीय पालिकाहरूसँग समन्वय गर्नु पर्ने बाध्यता रहेको श्रेष्ठको भनाई छ ।

विश्वभर फैलिएको भेरियन्ट सहितको कोरोना संक्रमण दर बढ्दै जाँदा एम्बुलेन्स नहुँदा थप समस्या भइरहेको श्रेष्ठले बताउनुभयो । संक्रमित बिरामीहरूलाई रिफर गरेर पठाउन आफ्नै एम्बुलेन्स नहुँदा स्थानीय पालिकासँग हारगुहार गर्नु पर्ने बाध्यता रहेको छ ।

जिल्ला अस्पताल सल्यानमा एम्बुलेन्स नभएपछि जिल्ला विपद् व्यवस्थापन समितिले स्थानीय पालिकाहरूमा रहेका एम्बुलेन्सलाई बार अनुसार अस्पतालमा उपलब्ध गराउँदै आइरहेको छ ।

अस्पतालको आफ्नै एम्बुलेन्स नभएपछि स्थानीय तहमा रहेका एम्बुलेन्स बार अनुसार परिचालन गर्ने गरी निर्णय गरी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी होमागाईले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button