तपाईँ सुन्दै हुनुहुन्छः

कोरोना त्राससँगै जुम्लामा खाद्यान्न अभाव  

जुम्ला । दोस्रो लहरको कोरोना महामारीसँगै जुम्लामा खाद्य सङ्कट निम्तिने सङ्केत देखिएको छ ।
आफ्नै उत्पादनले ६ महिना नधान्ने, खाद्यकै चामलमा निर्भर जुम्ली नागरिकले कोरोना महामारीको त्राससँगै खाद्य सङ्कट पनि झेल्नु पर्ने समस्या आएको छ ।
जुम्लाका धापा र जुम्लाकोट डिपोमा चामल नआएको बर्षौ बित्यो । सदरमुकामको डिपोमा पनि बिक्री गरेको खण्डमा एक हप्ता नपुग्ने खाद्यान्न छ । महामारी बढ्दै गएको र खाद्य संस्थानमा स्थानीयको भिड लाग्न थालेको छ  ।
खाद्य संस्थान व्यापार कम्पनीको केन्द्रीय कार्यालयले जुम्लाका धापा र जुम्लाकोट  डिपोमा वार्षिक १÷१ हजार क्विन्टल चामलको कोटा छुट्टाएको छ । तर,ठेकेदारले आर्थिक वर्ष सकिन लाग्दा समेत चामल ढुवानी नगर्दा समस्या भएको खाद्य व्यापार कम्पनी जुम्लाका प्रमुख तिलक सुनारले बताउनुभयो ।
उहाँले भन्नुभयो, “जुम्लाको खाद्य व्यापार कम्पनीमा पनि चामल अभाव हुन थालेको छ ।  ‘अहिले गोदाममा ८ सय ८० क्विन्टल चामल मात्रै मौज्दात छ । यो चामल बिक्री गरिए २ दिनमै सकिन्छ । अब गोदाममा ताला लगाउनुको विकल्प छैन ।”
जुम्लाको वार्षिक कोटा ५ हजार ६ सय ५० क्विन्टल चामल हो । जसमध्ये ९ सय क्विन्टल डोल्पाको सर्मी र काईगाउँ डिपो पठाउनुपर्दछ । भने, जुम्लाका लागि ४ हजार २५० क्विन्टल मात्रै बाँकी रहन्छ ।
आफ्नो उत्पादनले ६ महिना नपुग्ने जुम्लामा वार्षिक ४ हजार क्विन्टल चामलले वर्ष दिन धान्न मुस्किल रहेको प्रमुख सुनारको भनाई छ ।
चालू आर्थिक वर्षको ३ महिना अझै बाँकी रहेको र वैशाखमै चामल सकिन थालेपछि खाद्यमा पुगेका स्थानीयलाई रित्तै पठाउनुपर्ने अवस्था आएको खाद्य प्रमुख तिलक सुनाले बताउनुभयो ।
वार्षिक कोटा मध्ये ५ हजार १९३ क्विन्टल ढुवानी भई वितरण भइसकेको छ । भने, ठेकेदारले अझै ४ सय ५६ क्विन्टल चामल  ढुवानी गर्न बाँकी रहेको छ । तर आर्थिक वर्ष सकिन लाग्दा समेत कहिले ढुवानी गर्ने टुङ्गो छैन । ढुवानी कर्तालाई पटक पटक ताकेता गर्दा पनि अझै गाउँका डिपोमा २ हजार क्विन्टल चामल ल्याएको छैन । गाउँका डिपो रित्तो भएपछि सदरमुकाम आउँछन् सदरमुकाममा पनि चामल दिन अवस्था नभएपछि रित्तै घर फर्किनु पर्ने बाध्यता आइपरेको छ ।
तातोपानी गाउँपालिका वडा नम्बर ७ का अनिल रावतले खाद्यको चामल पाउन मुस्किल भएपछि बजारको महँगो चामल किन्न बाध्य भएको दुखेसो पोख्नुभयो । गाउँबाट एक दिन बास बसी खाद्यमा चामल लिन आउनुपर्छ । तर चामल सकिएको भन्ने जवाफ पाएर रित्तै फर्किने गरेको उहाँको गुनासो छ ।
अनिल रावत जस्तै सयौँ नागरिक सदरमुकाम खाद्य संस्थानबाट चामल नपाएर रित्तै फर्किने गरेका छन् ।
जुम्लामा झन्डै २० हजार घरधुरीको १ लाख ९ हजार बढी जनसङ्ख्या रहेको छ । यहाँको उत्पादनले बढीमा ६ महिना मात्रै धान्ने गरेको कृषि कार्यालय जुम्लाको तथ्याङ्क छ । बाँकी ६ महिना खाद्य संस्थान र बजारको चामलले खाद्यान्न पूर्ति गरिँदै आएको छ ।
अहिले जुम्लाका गाउँका डिपो देखि सदरमुकामको डिपोमा चामल अभाव भएपछि स्थानीय महँगीको मारमा परेका छन् । यता व्यापारीले कोभिड र खाद्यको चामल अभाव भएको मौका छोपी मनपरी मूल्यवृद्धि गरेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button