तपाईँ सुन्दै हुनुहुन्छः

कञ्चनपुरमा शहरी क्षेत्रभन्दा ग्रामीण क्षेत्र बढी कोरोना प्रभावित

कञ्चनपुर । कोरोना सङ्क्रमणको दर शहरमा भन्दा गाउँमा बढिरहेको पाइएको छ ।

जनस्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख शिवराज सुनारले स्थानीय प्रशासनले कोरोनाको चेन तोड्नका लागि लकडाउन गरेपछि शहर क्षेत्रमा मानिसहरूको आवागमन बन्द भए पनि गाउँघरमा मानिसहरूको आवागमन रोक्न नसक्दा कोरोनाको संक्रमण दर बढिरहेको बताउनुभयो  ।

उहाँले प्रहरी प्रशासनको उपस्थिति हुने स्थानमा मानिसहरूले लकडाउनको पालन गरे पनि अन्यत्र स्थानमा भने पसल सञ्चालन, मानिसहरूको भिडभाड, विवाह लगायतका गतिविधिले ग्रामीण क्षेत्रहरू कोरोनाको बढी जोखिममा रहेको पाइएको बताउनुभयो ।

भारत लगायत नेपालको ठुला सहरहरूबाट मानिसहरू कोरोनाबाट बच्न गाउँ घरतर्फ फर्केका र गाउँ घरमा खेतीपाती गर्न, बस्तुभाउ चराउन, घाँस दाउरा गर्दा छिमेकीहरूसँगै जाने र खाने गरेका कारण सामाजिक दुरी र स्वास्थ्य मापदण्डको पालन नहुने गरेका कारण कोरोना जोखिम उच्च हुने गरेका उहाँले बताउनु भएको छ ।

सबैले स्वास्थ्य मापदण्डको र लकडाउनको पूर्ण रुपमा पालना गर्न सके मात्र कोरोना संक्रमण दरमा कमी आउने र त्यसका लागि कम्तीमा पनि तीन साता लकडाउन गरिनु पर्ने जनस्वास्थ्य प्रमुख सुनारको भनाई छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button