तपाईँ सुन्दै हुनुहुन्छः

तनहुँमा कोरोना सङ्क्रमितको उपचारका लागि अक्सिजनसहितको आइसोलेसन बेड

तनहुँ । तनहुँमा पनि दैनिक रुपमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दो छ । दोस्रो लहरको कोरोनाको संक्रमण पहिलेको भन्दा डर लाग्दो रहेको चिकित्सकहरू बताउँछन् ।
दोस्रो लहरको कोरोना भाइरसको सङ्क्रमणबाट तनहुँ पनि अछुतो छैन । जिल्लामा वैशाख २२ गते बुधवार राति १२ बजेदेखि वैशाख ३१ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी गरिएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय तनहुँका अनुसार जिल्लाभर ८७ आइसोलेसन बेड छन् । प्रत्येक पालिकामा कम्तीमा ५ बेडको आइसोलेसन बेड तयार छन् ।
जिल्लाको बेलचौतारा स्थित जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा ३० बेडको आइसोलेसन तयार भएको छ । हरेक बेडमा पाइपलाइन मार्फत अक्सिजन पुर्‍याइएको छ । भेन्टिलेटर भने छैन ।
अक्सिजन १२ ठुलो सिलिन्डर, २० वडा सानो सिलिन्डर, ५ वटा अक्सिजन कन्सुन्टेटर उपलब्ध छ भने अक्सिजनको समस्या छैन । अस्पतालमा १४ जना डाक्टर, ११ जना नर्स र १४ जना पारामेडिक स्वास्थ्यकर्मी छन् । अस्पतालको एउटा एम्बुलेन्स छ । कोरोना सङ्क्रमितको उपचारको लागि तयार रहेको अस्पतालका निर्देशक डा. रामकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
सदरमुकाम स्थित दमौली अस्पतालमा १६ जना सामान्य संक्रमित राख्न सकिन्छ । थप ७ वटा सघन उपचार कक्ष छन् । ३० वटा अक्सिजन सिलिण्डर छ । थप अक्सिजन सिलिन्डर खरिदका लागि करिब ५ लाख रुपैयाँ बजेट व्यवस्था गरिएको अस्पताल विकास समितिका अध्यक्ष प्रदीप अधिकारीले जानकारी दिनुभयो ।
अस्पतालमा ४ जना डाक्टर र ४ जना स्टाफ नर्स छन् ।
जिल्लाको व्यास नगरपालिकाले दमौली अस्पतालकै आइसोलेसन बेड प्रयोग गर्ने जनाएको छ । नगरपालिकामा ३ वटा अक्सिजन सिलिण्डर र ६ वटा एम्बुलेन्स उपलब्ध छ ।
त्यस्तै शुक्लागण्डकी नगरपालिकामा ३० बेडको आइसोलेसन तयार पारिदैं छ । ५ वटा अक्सिजन सिलिण्डर र ५ वटा एम्बुलेन्स उपलब्ध रहेको नगरपालिकाले जनाएको छ ।
जिल्लाको बन्दिपुर गाउँपालिकामा २० बेडको आइसोलेसन तयार रहेको र १० सिलिण्डर अक्सिजन र एउटा एम्बुलेन्स  रहेको बन्दिपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले जानकारी दिनुभयो ।
त्यस्तै आबुँखैरेनी गाउँपालिकामा १२ बेडको आइसोलेसन, २ वटा अक्सिजन सिलिण्डर र ३ वटा एम्बुलेन्स रहेका छन् । भानु नगरपालिकामा ८ सिलिन्डर अक्सिजन सहित ५ बेडको आइसोलेसन र एउटा एम्बुलेन्स रहेको छ ।
यस्तै देवघाट गाउँपालिकामा ५ बेडको आइसोलेसन तयार हुदैंछ । ८ सिलिण्डर अक्सिजन र एउटा एम्बुलेन्स तयारी अवस्थामा छ । भिमाद नगरपालिकामा १० अक्सिजन सिलिन्डर सहित ५ बेडको आइसोलेसन बेड तयार छ भने एउटा एम्बुलेन्स उपलब्ध छ । म्याग्दे गाउँपालिकामा ५ बेडको आइसोलेसन तयार हुदैंछ, २ सिलिन्डर मात्रै अक्सिजन र २ वटा एम्बुलेन्स छन् ।
यस्तै रिसिङ गाउँपालिकामा ५ बेडको आइसोलेसन रहेको छ । ३ सिलिण्डर अक्सिजन र एउटा एम्बुलेन्स तयार रहेको गाउँपालिकाले जनाएको छ । घिरिङमा ५ बेडको आइसोलेसन तयार छ । १ सिलिन्डर अक्सिजन र एउटा एम्बुलेन्स रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button