तपाईँ सुन्दै हुनुहुन्छः

रुपन्देही प्रशासनद्वारा ८ वटा उद्योगबाट ५ सय ३८ वटा अक्सिजन सिलिण्डर सङ्कलन  

भैरहवा । रुपन्देहीमा अक्सिजनको अभाव भएपछि जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय रुपन्देहीको संयुक्त टोलीले अक्सिजन प्रयोग हुने उद्योगहरूबाट अक्सिजन सिलिण्डर सङ्कलन थालेको छ । जिल्लामा रहेको १२ वटा स्टिल उद्योगहरूमध्ये ८ वटा स्टिल उद्योगहरूबाट ५ सय ३८ वटा अक्सिजन सिलिण्डर सङ्कलन गरिएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले बताउनुभयो  ।
सङ्कलन गरिएको सिलिण्डरमा केही भरिएका थिए भने केही खाली थिए । सङ्कलन गरिएको अक्सिजन सिलिण्डरमध्ये युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज (युसीएमएस) भैरहवालाई १ सय वटा, लुम्बिनी प्रादेशिक अस्पताल बुटवललाई ६८ वटा र भीम अस्पताल भैरहवालाई १५ वटा उपलब्ध गराइएको उहाँले बताउनुभयो ।
बाँकी रहेका अन्य सिलिण्डरहरुलाई सम्बन्धित स्थान अक्सिजन भर्नका लागि पठाइएको प्रमुख जिल्ला अधिकारी तामाङले जानकारी दिनुभयो । रुपन्देहीमा सङ्क्रमितको सङ्ख्या दिनहुँ बढ्दै गएपछि अक्सिजन सिलिण्डरको अभाव भएको छ ।  यसलाई मध्यनजर गर्दै स्थानीय प्रशासनले उद्योगहरूबाट अक्सिजन सङ्कलन थालेको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button