तपाईँ सुन्दै हुनुहुन्छः

घिरिङ गाउँपालिकाले दियो किसानलाई उत्पादनका आधारमा अनुदान

तनहुँ । किसानलाई व्यावसायिक बनाउन तनहुँको घिरिङ गाउँपालिकाले उत्पादनमा आधारित अनुदान प्रदान गरेको छ ।
गाउँपालिकाका १८ जना किसानलाई लसुन र प्याज उत्पादन गरेबापत प्रति रोपनी ५ हजार रुपैयाँका दरले नगद प्रदान गरिएको हो ।
किसानलाई गाउँपालिका अध्यक्ष रन बहादुर राना र उपाध्यक्ष सरस्वती सिग्देलले नगद प्रदान गर्नुभएको हो ।
गाउँपालिकाको गाउँ सभाबाट पारित नीति तथा कार्यक्रममा उल्लेख भए अनुसार व्यावसायिक कृषिमा प्रेरित गर्ने उद्देश्यले नगद प्रदान गरिएको अध्यक्ष रानाले जानकारी दिनुभयो ।
उहाँले प्रोत्साहन रकम प्रदान गर्ने कार्यक्रम अनुसार निवेदन दिएका किसानलाई तोकिएको मापदण्डको आधारमा नगद प्रदान गरिएको बताउनुभयो ।
वडा नं. १ अत्रौलीका किसान प्रेम थापाले ८ रोपनी जमिनमा लसुन र प्याज उत्पादन गरेबापत ४० हजार रुपैयाँ प्राप्त गरेको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाले चालु आर्थिक वर्षमा समेत अदुवा र बेसार लगाउने किसानलाई प्रोत्साहन रकम दिने निर्णय गरेको छ ।
अदुवा कम्तीमा ४ रोपनीमा र बेसार कम्तीमा २ रोपनीमा लगाएबापत क्रमशः २० हजार र १० हजार रुपैयाँ पाउने गाउँपालिकाका सल्लाहकार सुमन कुमार श्रेष्ठले जानकारी दिनुभयो ।
अदुवा र बेसार लगाउनको लागि अहिले किसानले तयारी गरिरहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button