तपाईँ सुन्दै हुनुहुन्छः

सप्तरीमा आज रातिदेखि निषेधाज्ञा

सप्तरी ।  प्रदेश २ मा कोरोना सङ्क्रमण तीव्र रुपमा बढ्दै गएपछि सप्तरीमा पनि आज रातिदेखि एक साताका लागि निषेधाज्ञा आदेश जारी गरिएको छ ।
जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको निर्णयअनुसार जिल्ला प्रशासन कार्यालय सप्तरीद्वारा वैशाख २५ गते शनिबार राति १२ बजेदेखि वैशाख ३१ गते शुक्रवार राति १२ बजेसम्मका लागि जिल्ला भरी निषेधाज्ञा जारी गरिएको हो ।
सङ्क्रमणको चेन ब्रेक गरी रोकथाम तथा नियन्त्रण गर्न सरकारको निर्णय तथा जिल्लामा सङ्क्रमणको अवस्थाको मूल्याङ्कन गरी जिल्लाभरि लागू हुने गरी निषेधाज्ञा गरिएको सप्तरीका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणी पोखरेलले बताउनुभयो ।
निषेधाज्ञा समयमा नेपाल राजपत्रमा तोकिएको अत्यावश्यक सेवा बाहेकका अन्य सबै सेवा बन्द हुने उहाँले बताउनुभयो ।
सङ्क्रामक रोग ऐन २०२० को दफा २ र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ बमोजिम एक साता सम्मका लागि निषेधाज्ञा गरिएको जिल्ला प्रशासन कार्यालय सप्तरीद्वारा जारी सूचनामा उल्लेख छ ।
औषधि उपचार एवं सूचनामा उल्लेख भए बमोजिमका अत्यावश्यक काम बाहेक सबै सेवा बन्द गरिएको र सर्वसाधारणलाई घरबाट बाहिर ननिस्कन आग्रह गरिएको छ ।
निषेधाज्ञा अवधिभरि जिल्लाको विभिन्न ठाउँहरूमा लाग्ने हाट बजार, पसल, व्यवसाय लगायतका सञ्चालन गर्नसमेत रोक लगाइएको सूचनामा उल्लेख छ ।
निषेधाज्ञा आदेशलाई उल्लङ्घन गर्ने व्यक्तिलाई कानुन बमोजिम कारबाही गरिने बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button