तपाईँ सुन्दै हुनुहुन्छः

अस्पताल बनाउँदै स्थानीय तह

पर्वत । पर्वतका स्थानीय तहले आफ्नो क्षेत्रमा कोभिड अस्पताल बनाउन थालेका छन् ।

कोरोना सङ्क्रमण समुदायमा फैलिन थालेपछि जिल्लाका सातै स्थानीय तहले अस्पताल बनाउन लागेका हुन् ।

गत वर्ष गुप्तेश्वर क्याम्पसमा कोभिड अस्पताल बने पनि अहिले विस्थापित भइसकेको छ । उक्त अस्पताल सात वटै स्थानीय तहको आर्थिक सहयोगमा निर्माण भएको थियो ।

गत वर्ष निर्मित अस्पताल विस्थापित भएपछि यस वर्ष स्थानीय तहले एकल लगानीमा अस्पताल बनाउन थालेका हुन् ।

कोरोना सङ्क्रमितको सङ्ख्या बढ्न थालेपछि जिल्लाको महाशिला गाउँपालिकाले वडा ५ स्थित लुंखु प्राथमिक स्वास्थ्य केन्द्रमा ५ बेडको कोरोना अस्पताल सञ्चालनमा ल्याएको छ ।

पालिकाले १० वटा अक्सिजन सिलिन्डरको समेत जोहो गरेको प्रवक्ता जीवन विक्रम उचै ठकुरीले बताउनुभयो ।

त्यसै गरी पैयुँ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशव लामिछानेले यसअघिको ५ बेड क्षमताको अस्पताललाई बिस्तार गर्दै अक्सिजन सिलिन्डरसमेत राख्ने तयारी थालेको बताउनुभयो ।

त्यस्तै जलजला गाउँपालिकाले पनि ५ बेडको अस्पताल तयार गरेको जनाएको छ । पालिकासँग अक्सिजनका २ वटा मात्रै सिलिन्डर रहेको प्रवक्ता देविन्द्रबहादुर भण्डारीले बताउनुभयो ।

उहाँका अनुसार पालिकाले अरू अक्सिजन सिलिन्डर खरिद गरेर व्यवस्थापनको तयारी गर्दै छ ।

उता मोदी गाउँपालिकाका प्रवक्ता विमल लामिछानेका अनुसार तिलाहारको पुरानो स्वास्थ्य चौकीमा १० बेडको अस्पताल तयारी अवस्थामा रहेको छ । अक्सिजनको कमी देखिएकाले अक्सिजन सहितका बेड तयारी अवस्थामा राखेको प्रवक्ता लामिछानेले बताउनुभयो ।

त्यसै गरी बिहादी गाउँपालिका अध्यक्ष कमल भुसालले यसअघि नै तयार गरेको आइसोलेसन बेडलाई अक्सिजन लगायत पूर्वाधार थपेर व्यवस्थित बनाउने तयारी थालिएको बताउनुभयो ।

अस्पतालका लागि आवश्यक औषधी उपकरण खरिद गर्ने कार्यपालिकाले निर्णय समेत गरिसकेको छ ।

जिल्ला सदरमुकामसमेत रहेको कुश्मा नगरपालिकाले यसअघि गुप्तेश्वर क्याम्पसमा निर्माण गरिएको अस्पतालका संरचनालाई स्थानान्तरण गरी ठूलीपोखरी वा बजार क्षेत्रमै अस्थायी अस्पताल निर्माणको तयारी गरिरहेको नगर प्रमुख रामचन्द्र जोशीले बताउनुभयो ।

नेपाली काँग्रेसको नवनिर्मित भवनमा पनि कोभिड अस्पताल चलाउने बारेमा छलफल चलेको नगरप्रमुख जोशीले जानकारी दिनुभयो ।

जिल्ला अस्पतालमा १० बेडको भेण्टिलेटर र आइसियु सहितको बेड भएकाले ठुली पोखरीमा रहेको प्राथमिक स्वास्थ्य केन्द्र वा बजार क्षेत्रभन्दा बाहिर खोल्ने बारे छलफल भइरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button