तपाईँ सुन्दै हुनुहुन्छः

तनहुँमा १ सय ९ अक्सिजन सिलिन्डर मौज्दात

तनहुँ । तनहुँ जिल्लामा एक सय ९ अक्सिजन सिलिन्डर मौज्दात रहेको पाइएको छ ।

जिल्लाका विभिन्न स्थानीय तहमा उक्त सङ्ख्यामा अक्सिजन सिलिन्डर मौज्दात रहेको स्वास्थ्य कार्यालय तनहुँको तथ्याङ्कले जनाएको छ ।

कोभिड सङ्क्रमित दिनदिनै बढेको र कुनै पनि बेला अक्सिजन चाहिन सक्ने भएकाले स्थानीय तहले अक्सिजनको व्यवस्थापन गरेका छन् । तर उक्त सङ्ख्या अझैपनि पर्याप्त रहेको छैन ।

भानु नगरपालिकाले ३ थान, दमौली अस्पतालले ३० थान, शुक्लागण्डकी नगरपालिकाले ७ थान, जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रले २५ थान, भिमाद नगरपालिकाले १० थान, म्याग्दे गाउँपालिकाले ४ थान, घिरिङ गाउँपालिकाले १ थान, ऋषिङ गाउँपालिकाले ३ थान, देवघाट गाउँपालिकाले ९ थान, बन्दिपुर गाउँपालिकाले १३ थान र आँबुखैरेनी गाउँपालिकाले ४ थान अक्सिजन सिलिन्डर व्यवस्थापन गरेको स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिनुभयो ।

तनहुँमा २९ एम्बुलेन्स
तनहुँ जिल्लाभर २९ एम्बुलेन्स रहेको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।

भानु नगरपालिकामा ५, व्यास नगरपालिकामा ७, शुक्लागण्डकी नगरपालिकामा ४, जिपी कोइराला उपचार केन्द्रमा १, भिमाद नगरपालिकामा २, म्याग्दे गाउँपालिकामा ३, घिरिङ गाउँपालिकामा १, ऋषिङ गाउँपालिकामा १, देवघाट गाउँपालिकामा १, बन्दिपुर गाउँपालिकामा १ र आँबुखैरेनी गाउँपालिकामा ३ वटा एम्बुलेन्स रहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button