तपाईँ सुन्दै हुनुहुन्छः

देवघाट प्रवेशमा कडाइ, गाउँपालिका अध्यक्ष आफै नाकामा

तनहुँ । तनहुँको देवघाट गाउँपालिका प्रवेश नाकाहरूमा थप कडाइ गरिएको छ ।
जिल्लाको देवघाट पनि पर्यटकीय र धार्मिक स्थान भएको हुनाले कोरोना भाइरसबाट देवघाटवासीलाई थप सुरक्षित राख्न गाउँपालिका अध्यक्ष दुर्ग बहादुर थापा शनिबार आफै नाकामा खटिनुभएको छ ।
देवघाट प्रवेश नाकाहरूमा गत सातादेखि नै हेल्पडेस्क राखिएको गाउँपालिका अध्यक्ष थापाले बताउनुभयो । अनावश्यक आवतजावत गर्ने व्यक्तिलाई सम्झाई बुझाई गरी फर्काइएको अध्यक्ष थापाले जानकारी दिनुभयो ।
देवघाटका विभिन्न आश्रमहरूमा धेरै बृद्धबृद्धा बस्ने गरेको हुँदा उनीहरूको सुरक्षाको लागि पनि नाकाहरूमा थप कडाइ गरिएको उहाँले बताउनुभयो ।
देवघाट गाउँपालिकाले कोभिड रोकथामको लागि सचेतनामूलक माइकिङ, प्रचार–प्रसार गर्ने, बैक तथा वित्तीय संस्थामा सेवाग्राहीको भिड कम गर्ने लगायतको कार्य गरेको छ ।
कसैलाई कोरोना पोजेटिभ देखिएमा होम आइसोलेसनमा बस्ने तर स्वास्थ्य समस्या देखिएमा भरतपुर, दमौली र पोखराको कोभिड अस्पतालमा पायक पर्ने स्थानमा पठाउने व्यवस्था मिलाएको देवघाट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरहरि सापकोटा बताउनुभयो ।
देवघाट प्रवेश गर्ने मुख्य नाकाहरूमा आवतजावत गर्ने मानिसहरूको विवरण सङ्कलन समेत गरिएको छ ।
गत साता नै गाउँपालिकाले मुख्य नाकाहरूमा हेल्पडेस्क राखी अनावश्यक रुपमा आवतजावत गर्ने सर्वसाधारण थप कडाइ गर्ने निर्णय समेत गरेको थियो  ।
देवघाट प्रवेश नाकाहरू पुरानो झोलुङ्गे पुल, दासढुङ्ग पक्की पुल र झोलुङ्गे जुगेडी पुलहरूमा नेपाल प्रहरी, देवघाट गाउँपालिका नगर प्रहरी, जनप्रतिनिधि र युवाहरू सहितको हेल्पडेस्क राखिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button