तपाईँ सुन्दै हुनुहुन्छः

बीरगंजमा कोरोना सङ्क्रमण दर घट्दै

बीरगंज । पछिल्लो दुई दिनयता बीरगंजमा कोरोना सङ्क्रमणको दर घट्दै गएको छ ।
आज बिहान नारायणी अस्पतालले सार्वजनिक गरेको १ सय ९० जनाको पिसीआर परीक्षण तथा ३७ जनाको एन्टिजेन परीक्षण गरी २ सय २७ जना मध्ये ११ जनामा मात्रै कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
दैनिक रुपमा परीक्षण गरिएको मध्ये झण्डै ७० प्रतिशतभन्दा बढीमा कोरोना सङ्क्रमणको रिपोट पोजेटिभ आइरहेको बेला दुई दिनदेखिको रिपोटमा नेगेटिभको सङ्ख्या बढ्दै गएपछि बीरगंजमा कोरोना सङ्क्रमण दर उच्च बिन्दुमा पुगेर ओरालो लाग्न थालेको चिकित्सकहरूले बताएका छन् ।
पर्सा जिल्लाका विभिन्न स्थानबाट सङ्कलन गरिएको १ सय ९० जनाको आरटी पिसिआर र ३७ जनाको एन्टिजेन परीक्षण गर्दा आज बिहान सार्वजनिक गरिएको रिपोटमा जम्मा ११ जनामा कोरोना सङ्क्रमण पुष्टि हुनुले बीरगंजमा कोरोना सङ्क्रमणको दर घट्न थालेको पुष्टि गरेको हो ।
थपिएका सङ्क्रमित मध्ये पनि बाराका ४ र पर्साका ७ जना रहेका छन् ।
नारायणी अस्पतालका कोभिड संयोजक डा. सरोज रोशन दासका अनुसार पर्साको वीरगञ्ज महानगरपालिका वडा नम्बर २, ३, १०, ११, १३, २७ र एक जनाको वडा नखुलेका व्यक्तिको कोरोना सङ्क्रमण पुष्टि भएको छ भने बाराको परवानीपुरका २ जना र कलैया तथा तथा फेटा गाउँपालिकाका १÷१  जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
सङ्क्रमित हुने मध्ये ४ जना महिला र ७ जना पुरुष रहेका छन् । सङ्क्रमितहरूको उमेर ३० वर्षदेखि ६० वर्षसम्म  रहेको छ ।
यसैबिच बीरगंजस्थित नारायणी अस्पतालले गए राति सार्वजनिक गरेको पिसीआर परीक्षण र एन्टिजेन परीक्षणको रिपोट अनुसार थप २ सय २७ जना मध्ये ८५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
जसमध्ये ७० जनाको पिसीआर रिपोर्ट र १५ जनाको एन्टिजेन परीक्षण रिपोट पोजेटिभ आएको नारायणी अस्पतालका कोभिड संयोजक डा.सरोज रोशन दासले बताउनुभयो ।
सङ्क्रमण पुष्टि हुनेमा ६० जना पुरुष र २५ जना महिला रहेका छन् ।
सङ्क्रमित मध्ये ६४ जना पर्सा जिल्लाको रहेका छन् भने बाराका १३ जना, रौतहटका ७ जना, सर्लाहीका १ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको डा.दासले बताउनुभयो ।
सङ्क्रमितको उमेर समूह ११ वर्षदेखि ७५ वर्षसम्म रहेको र सङ्क्रमितको सिटी भ्यालु १४ दशमलव ९ देखि ३५ दशमलव ९ सम्म रहेको नारायणी अस्पतालका कोभिड संयोजक डा.दासले जानकारी दिनुभयो ।
दुई दिनदेखि गरिएको पिसीआर तथा एन्टिजेन परीक्षणमा पर्सामा कोरोना सङ्क्रमण दर घटेपछि बीरगंजमा राहतको महसुस गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button