तपाईँ सुन्दै हुनुहुन्छः

पेट्रोल छर्की आगो लगाई छिमेकीलाई जिउँदै जलाउने फरार अभियुक्त पक्राउ

सर्लाही । सर्लाहीको ईश्वरपुर नगरपालिका वडा नं.१२ घारीबथानमा वैशाख २० गते एक जना पुरुषलाई पेट्रोल छर्की आगो लगाई जिउँदै जलाएर बीभत्स हत्या गरी फरार भएका अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा घारीबथानकै ३५ वर्षीय युवक शिवजी शाह रहेको छ । शाहलाई मलंगवा नगरपालिका वडा नं. ५ भाडसरस्थित नेपाल भारत सीमावर्ती क्षेत्रबाट इलाका प्रहरी कार्यालय केशरगज सर्लाहीबाट प्रहरी निरीक्षक जनकराज ढुङ्गानाको कमान्डमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता मदन कुँवरले जानकारी दिनुभयो ।
वैशाख २० गते ईश्वरपुर नगरपालिका वडा नं.१२ घारीबथान बस्ने ५८ वर्षीय सियाशरण रायलाई घर अगाडि रहेको आँपको बगैँचामा बसिरहेको अवस्थामा अभियुक्त शाहले पुरानो रिसिइबिको कारण शरीरमा पेट्रोल छर्की आगो लगाई घाइते बनाएका थिए । जलेर गम्भीर घाइते भएका रायलाई काठमाडौँ पठाइएकोमा वैशाख २१ गते नै रायको मृत्यु भएको थियो । घटना भएपछि अभियुक्त शाहलाई प्रहरीले ५ दिनमै पक्राउ गरेको हो ।
पक्राउ परेका अभियुक्त उपर कर्तव्य ज्यान सम्बन्धी मुद्दामा म्याद थप गरी अनुसन्धान अगाडि बढाइने छ । र हत्या बीभत्स तरिकाले गरेको हुँदा पक्राउ परेको अभियुक्तलाई जन्मकैद समेत हुन सक्ने प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक कुँवरले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button