तपाईँ सुन्दै हुनुहुन्छः

सर्लाहीमा निषेधाज्ञा अवज्ञा गर्ने १ सय ९७ सवारी साधन प्रहरीको नियन्त्रणमा

सर्लाही । सर्लाहीमा निषेधाज्ञा अवज्ञा गर्ने १ सय ९७ सवारी साधन प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरीले निषेधाज्ञा अवज्ञा गरेको भन्दै बस, म्याजिक, कार, टेम्पो, ट्याक्टर र मोटरसाइकल गरी १ सय ९७ सवारी साधन प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

कोरोना संक्रमण नियन्त्रणको लागि सर्लाही जिल्लाभर लागु हुने गरी जिल्लास्तरिय कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको २४ गते बसेको बैठकको निर्णयअनुसार शनिवार राती १२ः०० बजेदेखि ३१ गते राती १२ः०० बजे सम्म निषेधाज्ञा जारी गरिएको थियो ।

आइतबार १० बजेसम्म जिल्ला प्रहरी कार्यालय तथा मातहतमा रहेको अन्य कार्यालय समेतमा चेकजाँच गर्ने क्रममा निषेधाज्ञा उलङ्घन गरी चलाउने बस, म्याजिक, कार, टेम्पो एक एक वटा तथा ट्याक्टर ३ वटा र मोटरसाइकल १ सय ९० वटा प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

सर्लाहीमा कोरोना संक्रमित व्यक्तिहरूको सङ्ख्या दिनानुदिन बढ्दै गएपछि कोरोना भाइरसको संक्रमण न्युनिकरण गर्न निषेधाज्ञा गरिएको हो ।

यसै गरी सर्लाहीको ग्रामीण क्षेत्रमा कोरोना भाइरस कोभिड– १९ सँग मिल्दोजुल्दो लक्षण भएका बिरामीको सङ्ख्या पनि एक्कासि बढेको छ । बिरामीमा उच्च ज्वरो आउने, घाँटी दुख्ने, रुघाखोकी लाग्ने ,जीउ ढाड दुख्ने, टाउको दुख्ने र छाती दुख्ने जस्तो कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षण देखिएको स्वास्थ्यकर्मीहरुले बताएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button