तपाईँ सुन्दै हुनुहुन्छः

डडेलधुरा रेडक्रसमा १६ शय्याको आइसोलेसन निर्माण गरिँदै  

डडेलधुरा  । डडेलधुरा अस्पतालमा कोरोना सङ्क्रमितका बिरामीहरूको सङ्ख्या बढ्दै गएपछि नेपाल रेडक्रस सोसाइटी डडेलधुरा शाखाको भवनमा तत्काल १६ शय्याको आइसोलेसन बनाइने भएको छ ।
डडेलधुरा अस्पताल नजिकै रहेको रेडक्रस भवनमा तत्काल १६ शय्याको आइसोलेसन व्यवस्थापन गरिने डडेलधुराका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले बताउनुभयो । कोरोना महामारी न्यूनीकरणका लागि आवश्यक पहल गर्न गृह जिल्ला पुगेका सुदूरपश्चिम प्रदेशसभा सदस्य कर्णबहादुर मल्लले डडेलधुरा अस्पतालमा आइसोलेसन बेड कम हुँदा जटिल किसिमको लक्षण देखिएका बिरामीहरूलाई अक्सिजन दिएर उपचार गर्न समस्या भएकाले तत्काल आइसोलेसन निर्माणका लागि जिल्लास्थित सरोकारवालाहरूसँग छलफल गर्नु भएको थियो ।
प्रमुख जिल्ला अधिकारी घिमिरे, सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम अर्याल, स्वास्थ्य कार्यालय डडेलधुराका प्रमुख आशुतोष श्रेष्ठ, अमरगढी नगरपालिकाका नगरप्रमुख विश्वेश्वर प्रसाद ओझा, जिल्ला प्रहरी कार्यालय डडेलधुराका डिएसपी महेन्द्र नेपाल, डडेलधुरा अस्पताल विकास समितिका पदाधिकारीका साथै मेडिकल सुपरिटेन्डेन्ट डा. जगदीशचन्द्र विष्टसहित जिल्ला स्तरीय सरोकारवालाहरूसँग छलफलपछि डडेलधुरा अस्पताललाई आवश्यक पर्ने अक्सिजनको सहज आपूर्तिका लागि पहल गर्ने निर्णय समेत गरिएको छ ।
छलफलका क्रममा नेपाली काँग्रेस डडेलधुराका सभापति समेत रहेका सांसद मल्लले कोरोना संक्रमित बिरामी, कुरुवा र अन्य अलपत्रमा परेका नागरिकहरूका लागि नेपाली काँग्रेस डडेलधुराले गठन गरेको सेवा दलमार्फत खाना र आवासको प्रबन्ध गर्न सकिने र नेपाली काँग्रेस डडेलधुराको कार्यालय किसुनजी भवनमा आइसोलेसन निर्माण गर्न सकिने प्रस्ताव राखेका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button