तपाईँ सुन्दै हुनुहुन्छः

आन्दोलनकारीले लगाएको ताला प्रहरीले फोड्यो

सुनसरी । जिल्ला प्रशासन कार्यालय सुनसरीको निर्देशनमा प्रहरीले बिपी प्रतिष्ठानमा आन्दोलनकारीले लगाएको ताला फोडेको छ ।
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कर्मचारी कल्याण तदर्थ समितिको नेतृत्वमा ४ जना पदाधिकारीहरू उपकुलपति, शिक्षाध्यक्ष, रजिस्ट्रार, अस्पताल निर्देशक र नर्सिङ मेट्रोको कार्यकक्षमा गरिएको तालाबन्दी आज जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालको निर्देशनपछि प्रहरीले तोडेको हो ।
सरकारले जारी गरेको जनस्वास्थ्य मापदण्ड विपरीत भेला हुने कार्य भइरहेको, कोभिड महामारीको बेला र सुनसरी प्रशासनले लकडाउन गरेको बेला ताला लगाएको भन्दै ताला तोडिएको प्रमुख जिल्ला अधिकारी ढकालको भनाई छ ।
कोभिड उपचारमा खटिएका कर्मचारीहरूले जोखिम भत्ता हालसम्म नपाएको, कोभिडमा खटिएका कर्मचारीहरूलाई क्वारेनटाइन र खानाको व्यवस्था नगरेको लगायत पाँच वटा माग राखेर शुक्रवार ४ जना पदाधिकारीको कार्यालयमा तालाबन्दी गरेका थिए ।
आन्दोलन गरिरहेका समितिका किरण भट्टराई ५ बुँदे मध्ये एउटा मागको पनि सम्बोधन नभएकाले माग पुरा नहुन्जेल सम्म आन्दोलन जारी रहने बताएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button