तपाईँ सुन्दै हुनुहुन्छः

पर्सामा कोभिड नियन्त्रणका लागि जिल्ला समन्वयात्मक बैठक सम्पन्न

वीरगंज । जिल्ला प्रशासन कार्यालय पर्सामा आज कोभिड नियन्त्रण तथा रोकथाम सम्बन्धी जिल्ला समन्वयात्मक बैठक सम्पन्न भएको छ ।
पर्साका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेको अध्यक्षतामा सम्पन्न बैठकले वीरगंज महानगरपालिकाले विभिन्न स्थानमा स्वाब सङ्कलन गरी परीक्षणका लागि नारायणी अस्पतालमा पठाउने गरेकोमा त्यसलाई थप सहज र प्रभावकारी बनाउन त्यस्ता स्थानमा एन्टिजेन परीक्षणको कार्य समेत प्रारम्भ गर्ने, एन्टिजेन परीक्षणका नतिजा नेगेटिभ आएका तर बिरामीमा कोभिड सङ्क्रमणसँग मिल्दो लक्षण देखिएकाहरूको हकमा मात्र स्वाब सङ्कलन गरी आरटि पीसीआर परीक्षणका लागि नारायणी अस्पतालमा पठाउने, नारायणी अस्पतालले वीरगंज महानगरपालिकालाई आवश्यक पर्ने एन्टिजेन किट उपलब्ध गराउने निर्णय गरेको छ ।
बैठकले नारायणी अस्पतालमा पीसीआर प्रयोगशाला तीन सिफ्टमा २४ सै घण्टा सञ्चालन गर्ने, त्यसका लागि आवश्यक जनशक्तिको नारायणी अस्पताले व्यवस्थापन गर्ने, जिल्लामा भई रहेको कोभिड नियन्त्रण तथा रोकथाम, प्रतिकार्य र उपचार सम्बन्धी कामलाई अझ बढी प्रभावकारी बनाउन सम्बद्ध निकायबिच आवश्यक समन्वय गर्ने, नारायणी अस्पतालमा हाल प्राप्त भएको १ सय ५० फाइल रेम्डिसिभिर औषधी आवश्यकता र प्राथमिकता अनुसार अस्पताल र चिकित्सकको सिफारिसमा न्यायोचित रुपमा वितरण गर्न डा. निरज सिंहको संयोजकत्वमा ४ सदस्यीय समिति गठन गरेको छ ।
समितिको सदस्यमा जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकीय अधिकृत विनय कुमार श्रीवास्तव, जिल्ला जनस्वास्थ्यका जयमोद ठाकुर र वीरगंज महानगरपालिकाका सुनिल कर्ण रहनु भएको छ ।
समन्वयात्मक बैठकमा वीरगंज महानगरपालिकाका नगर प्रमुख विजय सरावर्गी, नेकपा एमाले पर्साका अध्यक्ष प्रभु हजारा, नेपाली कांग्रेस पर्साका सभापति अजय द्विवेदी, जनता समाजवादी पार्टीका अध्यक्ष रामनरेश यादव, नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सञ्जय ठाकुर, जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक बेल बहादुर पाण्डे, सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खड्का, चण्डीप्रसाद गणका सेनानी प्रभव विक्रम शाह, राष्ट्रिय अनुसन्धानका निर्देशक टिका प्रसाद पोखरेल, सहायक प्रमुख जिल्ला अधिकारी ध्रुव गिरी, भीम कान्त पौडेल लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button