तपाईँ सुन्दै हुनुहुन्छः

होम आइसोलेसनमा सल्यानका दुई महिलाको मृत्यु 

सल्यान । सल्यानमा होम आइसोलेसनमा बसेका दुई महिलाको मृत्यु भएको छ । आइतबार दिउँसो कोरोना संक्रमित दुई महिलाको मृत्यु भएको स्वास्थ्य सेवा कार्यालय सल्यानले जानकारी दिएको छ ।
मृत्यु हुनेमा सिद्ध कुमाख गाउँपालिका १ की ४१ वर्षकी र कपुरकोट गाउँपालिका ५ कि ३६ वर्षीया महिला रहेको स्वास्थ्य सेवा कार्यालय सल्यानका कोरोना फोकल पर्सन रिखाराम पुनले बताए ।
यससँगै सल्यानबाट कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १२ पुगेको छ ।
आइतबार ३० संक्रमित थपिँदा २४ डिस्चार्ज 
सल्यानमा आज एन्टिजेन परिक्षण गर्दा ३० नयाँ संक्रमित थपिएका छन् । थपिनेमा छत्रेश्वरी गाउँपालिकाका २, त्रिवेणी गाउँपालिकाका १८, शारदा नगरपालिकाका ७ र बनगाड कुपिण्डे नगरपालिकाका ३ रहेका छन् । यस्तै कोरोना निको भएर आज २४ जना डिस्चार्ज भएको कार्यालयले जनाएको छ । वैशाखदेखि हालसम्म जिल्लामा ११ सय ४७ जना डिस्चार्ज भइसकेका छन् ।
जिल्लामा हालसम्म ४ सय ५७ जना सक्रिय संक्रमित रहेको कोरोना फोकल पर्सन पुनले बताए । उनका अनुसार सल्यान अस्पतालमा २४, संस्थागत आइसोलेसनमा १३ र ४ सय २० जना होम आइसोलेशनमा रहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button