तपाईँ सुन्दै हुनुहुन्छः

संवैधानिक आयोगहरूमा नियुक्तिका लागि को को भए सिफारिस ?

काठमाण्डौं । संवैधानिक परिषद्ले संवैधानिक आयोगहरूमा रिक्त सबै पदहरूमा नियुक्तिका लागि सिफारिस गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा हिजो बसेको बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा रिक्त रहेको आयुक्त पदहरूमा डाक्टर हरि पौडेल–बागलुङ र डाक्टर सुमित्रा श्रेष्ठ ब्याञ्जु – ललितपुरलाई नियुक्त गर्न सिफारिस गरेको हो ।

संवैधानिक परिषद्का सदस्य एवं राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिम्लिसिनाले रेडियो नेपाललाई दिनुभएको जानकारी अनुसार संवैधानिक परिषद्ले लोक सेवा आयोगको अध्यक्षमा झापाका माधव रेग्मी र सदस्यहरूमा कपिलवस्तुका माधव बेल्वासे, इलामका वीर बहादुर राई, ललितपुरका दिनेश सिलवाल र महोत्तरीका मञ्जु कुमारीलाई सिफारिस गरेको छ ।

यसै गरी, निर्वाचन आयोगमा रुपन्देहीका सगुन शमशेर जबरा, प्राकृतिक स्रोत तथा वित्त आयोगमा पाँचथरका विपिनराज निरौला र धनुषाका सुधा कुमारी झालाई संवैधानिक परिषद्ले नियुक्तिका लागि सिफारिस गरेको छ ।

त्यस्तै, राष्ट्रिय महिला आयोगमा रिक्त सदस्य पदमा धनुषाका जया घिमिरे र पर्वतका साबित्रा कुमारी तिवारीलाई सिफारिस गरिएको छ ।

यसै गरी संवैधानिक परिषद्ले दलित आयोगमा काठमाण्डौका सुन्दर पुर्कोटी, राष्ट्रिय समावेशी आयोगको अध्यक्षमा कास्कीका डा. रामकृष्ण तिम्लिसिना तथा सदस्यहरूमा पर्वतका पुष्पराज तिम्लिसिना र बझाङका मानप्रसाद खत्रीलाई नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको छ ।

त्यस्तै, आदिवासी जनजाति आयोगमा खोटाङका सूर्यबहादुर गुरुङ, मधेसी आयोगमा सप्तरीका आभा कुमारी, थारु आयोगमा नवलपरासी पश्चिमका उमाशङ्कर चौधरी र मुस्लिम आयोगमा सर्लाहीका मोहम्मद समसुल हकलाई नियुक्तिका लागि संवैधानिक परिषद्ले सिफारिस गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button