तपाईँ सुन्दै हुनुहुन्छः

विचार र संस्थागत भिन्नता थाँती राखेर कोभिडविरुद्ध साझा लडाई लड्न प्रधानमन्त्रीको आग्रह 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले विचारको भिन्नता वा संस्थागत भिन्नताहरूलाई थाँती राखेर कोभिडलाई परास्त गर्न साझा लडाई लड्न सबै पक्षलाई आग्रह गर्नुभएको छ ।
प्रधानमन्त्री ओलीले सरकारले यति बेला आफ्नो सम्पूर्ण ध्यान कोरोना सङ्क्रमणको नियन्त्रणमा लगाइरहेको प्रष्ट पार्नुभएको छ ।
प्रतिनिधिसभाको आज बसिरहेको विशेष अधिवेशनमा नेपालको संविधान अनुसार आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने स्पष्ट पार्न विश्वासको मतका लागि प्रस्ताव प्रस्तुत गर्दै प्रधानमन्त्री ओलीले कोभिड–१९ को रोकथाम, त्यसको उपचार र आवश्यकता अनुसार त्यस विरुद्धको लडाइँका कदमहरूलाई प्रभावकारी रुपमा अगाडि बढाइरहेको बताउनुभयो ।
प्रधानमन्त्री ओलीले देश कोरोना महामारीको दोस्रो लहरबाट आक्रान्त भइरहेको बेला कोभिड विरुद्धको लडाइलाई पक्ष विपक्षको विषय नबनाउन आग्रह गर्नुभयो ।
उहाँले कोभिड महामारीका कारण सामाजिक क्षति पुगिरहेको, जनजीवन अस्तव्यस्त भएको र अर्थतन्त्रमा नकारात्मक असर परिरहेको बेला कसैले पनि कोभिडलाई आधार बनाएर आफ्नो राजनीति सोझ्याउन नहुनेमा जोड दिनुहुँदै यस अभियानमा सबै पक्षले सरकारलाई साथ दिन आग्रह गर्नुभयो ।
प्रधानमन्त्री ओलीले अहिलेको परिस्थितिमा स्थिरता र स्थायित्वका साथ एकताबद्ध भएर जनताले बुझ्ने गरी आफ्ना सकारात्मक गतिविधि र चिन्तनहरूमा केन्द्रित हुनुपर्नेमा त्यसो हुन नसकेकोमा दुःख व्यक्त गर्नुभयो ।
प्रधानमन्त्री ओलीले सरकारले कोरोना सङ्क्रमण नियन्त्रण, जनजीवनको क्षति न्यूनीकरण र अर्थतन्त्रमा पुग्ने क्षति न्युनिकरणतर्फ ध्यान केन्द्रित गरेरै कोभिड अस्पताल, आइसोलेसन कक्ष, अक्सिजन सिलिन्डर, खोप र औषधिको व्यवस्था गरिरहेको बताउनुभयो ।
उहाँले, यस्तो महामारीको बेला कोभिड विरुद्धको औषधि र खोप खरिद जस्ता विषयमा कहीँ कसैले भ्रष्टाचार गर्छ भने त्यस्तो अपराध क्षम्य नहुने र कारबाही हुने प्रष्ट पार्नुभयो ।
प्रधानमन्त्रीले राष्ट्रियता, लोकतन्त्रको रक्षा र भ्रष्टाचार विरुद्धको लडाइमा वर्तमान सरकारले कुनै अनुचित कार्य नगर्ने प्रष्ट पार्नुभयो ।
वर्तमान सरकार कुनै हिसाबले पनि विश्वास गर्नु नपर्ने सरकार हुँदै होइन भन्नुहुँदै प्रधानमन्त्री ओलीले वर्तमान सरकारले लिएका नीति र अघि बढाएका कार्यक्रमहरू र सरकारका व्यवहारबाट सत्य तथ्य स्पष्ट भएको बताउनुभयो ।
उहाँले, कुनै तर्कभन्दा पनि सत्य आफै बोलिरहेको र अन्तर्राष्ट्रिय जगतमा नेपाल सुनिन र देखिन थालेको र अन्तर्राष्ट्रिय समुदायले सुन्नु पर्ने आवश्यकता महसुस गर्न थालेको बताउनुभयो ।
प्रधानमन्त्रीले समयानुकूल संविधान संशोधन गर्न सकिने र त्यसका लागि छलफल र अध्ययन गर्न कार्यदल बनाएर सुझाव लिन सकिने प्रष्ट पार्नुभयो ।
प्रतिनिधि सभाको आजको बैठकमा कोरोना सङ्क्रमित ३० जना सांसदहरूलाई प्रधानमन्त्री केपी शर्मा ओलीले लिने विश्वासको मतको मतदान प्रक्रियामा सहभागी गराउन टेन्टमा बस्ने व्यवस्था मिलाइएको छ ।
कोरोना सङ्क्रमण परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएका सांसदहरूलाई मात्रै संसद् भवन भित्र जाने व्यवस्था मिलाइएको छ ।
यसैबीच, प्रतिनिधिसभाको आजको पहिलो बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्राप्त अधिवेशन आह्वान सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउनु भएको थियो ।
बैठकमा सभामुख सापकोटाले प्रतिनिधिसभामा अध्यक्षता गर्ने सदस्यहरूको मनोनयन पनि गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button