तपाईँ सुन्दै हुनुहुन्छः

पर्वतमा १० दिनका लागि निषेधाज्ञा जारी

पर्वत । कोरोना सङ्क्रमित बढ्दै गएपछि पर्वत जिल्लामा १० दिनका लागि निषेधाज्ञा जारी गरिएको छ ।

जिल्ला कोभिड सङ्कट व्यवस्थापन समितिको सिफारिसमा जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको हो ।

मङ्गलवार राती १२ बजेबाट लागु हुने गरी जेठ ७ गतेसम्म निषेधाज्ञा गरिने भएको छ ।

प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीद्वारा हस्ताक्षरित विज्ञप्तिमा जिल्लाभर निषेधाज्ञा लगाउने उल्लेख छ ।

यसअघि वैशाख १८ गतेदेखि कुश्मा नगरपालिकामा मात्रै निषेधाज्ञा जारी भएको थियो ।

जिल्लामा कोरोना सङ्क्रमणका कारण दैनिक रुपमा मृत्यु हुने र सङ्क्रमित हुनेको सङ्ख्या उल्लेख्य वृद्धि भएपछि निषेधाज्ञा लागु गर्न लागेको प्रमुख जिल्ला अधिकारी पाण्डेले बताउनुभयो ।

निषेधाज्ञाको समयमा अत्यावश्यक बाहेक घरबाट बाहिर निस्कन र हिँडडुल गर्न पूर्णत रोक लगाइएको छ ।

मठमन्दिर तथा धार्मिक स्थलहरू बन्द रहने भएका छन् । विवाह र मृत्यु संस्कारमा १० जना मात्रै सहभागी हुन पाइने सूचनामा उल्लेख छ ।

अत्यावश्यक सेवा बाहेकका पसल बन्द गर्ने, सरकारी कार्यालयमा न्यूनतम कर्मचारीमार्फत मात्रै सेवा प्रवाह गर्ने, सार्वजनिक तथा निजी सवारी साधन चलाउने रोक लगाउने, विकास निर्माणका काम नरोक्ने तर कार्यस्थलमै मजदुरलाई खाने, बस्ने व्यवस्था गर्ने, लघुवित्त, सहकारी तथा बिमा कम्पनीहरू बन्द गर्ने लगायतका निर्णय भएका छन् ।

औषधी तथा स्वास्थ्यका सामाग्री किनबेच हुने पसल २४ घण्टा सञ्चालन गर्न दिने, एम्बुलेन्स, शव वाहन, दमकल, खाद्य सामाग्री, निर्माण सामाग्री, दूध, दही, पानी, पेट्रोल आदी बोकेका सवारीलाई सञ्चालनमा रोक नलगाउने प्रशासनले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button