तपाईँ सुन्दै हुनुहुन्छः

अहिलेको सरकारलाई अविश्वास गर्नु पर्ने कुनै कारण छैन : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले आफ्नो सम्पूर्ण ध्यान यति वेला कोरोना नियन्त्रणमा लगाइरहेको बताउनुभएको छ ।
नेपालको संविधानको धारा १००(१) अनुसार आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने स्पष्ट पार्न विश्वासको मतका लागि प्रस्ताव प्रस्तुत गर्दै प्रधानमन्त्री ओलीले कोभिड–१९ को रोकथाम र त्यसको उपचारमा र आवश्यकता अनुसार त्यस विरुद्धका लडाइका कदमहरूलाई प्रभावकारी रुपमा अगाडि बढाइरहेको बताउनुभयो ।
प्रधानमन्त्री ओलीले देश कोरोना महामारीको दोस्रो लहरबाट आक्रान्त बनिरहेको अवस्थामा विचारका भिन्नता अथवा संस्थागत भिन्नताहरूलाई थाती राखेर कोभिड विरुद्ध एकजुट हुन र सरकारलाई साथ दिन सबै पक्षलाई आग्रह गर्नुभयो ।
प्रधानमन्त्री ओलीले कोरोना महामारीको साझा सङ्कटका वेलामा यदि कसैले भ्रष्टाचार गर्छ भने त्यस्तो अपराध क्षम्य हुँदैन भन्नु हुँदै सरकारले कारबाही गरिछाड्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।
प्रधानमन्त्री ओलीले अहिलेको सरकारले राष्ट्रियता, लोकतन्त्रको भ्रष्टाचार विरुद्धको लडाइ, राष्ट्रियता र जनताको हित विपरीत अनुचित कार्य नगर्ने बताउनुभयो ।
प्रधानमन्त्री ओलीले सत्यलाई पछ्याएर निर्णय गर्नु पर्ने अवस्था आएको भन्नु हुँदै वर्तमान सरकारलाई कुनै हिसाबले अस्वीकार गर्नु पर्ने कारण नभएकाले आफूले विश्वासको मत लिने र आफु माथि विश्वास छ भन्ने स्पष्ट गर्न चाहेको बताउनुभयो ।
प्रधानमन्त्री ओलीले राष्ट्रिय हितको संवर्द्धन, राष्ट्रियता, स्वाधीनता र स्वतन्त्रतालाई संरक्षण गर्ने साथै राष्ट्रिय स्वाभिमानलाई माथि उठाउने सवालमा यो सरकार तर्कभन्दा माथि रहेको समेत बताउनुभयो ।
प्रधानमन्त्री ओलीले यो सरकारले विखण्डनकारी र पृथकतावादी समूहलाई मूलधारमा ल्याएको, विकास निर्माणका कामलाई तीव्रताका साथ अगाडि बढाएको, उच्च कृषि उत्पादन, अनुसन्धानमुखी विश्व विद्यालय निर्माण, उद्योग धन्दाको संरक्षण, सडक पूर्वाधार निर्माणलगायतका कार्यमा असाधारण ढङ्गले अगाडि बढाइरहेको बैठकमा जानकारी गराउनुभयो ।
प्रधानमन्त्री ओलीले सबैको आकाङ्क्षा समृद्ध नेपाल निर्माण भएकाले सरकार यसको गन्तव्य निर्धारण गर्ने तर्फ अगाडि बढेको बताउनुभयो ।
सबै सांसदहरूसँग विश्वासको मत माग गर्नुहुँदै प्रधानमन्त्री केपी शर्मा ओलीले आफु माथि विश्वास छ भन्ने पुष्टि यस सदनले गरोस् भन्ने चाहेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button