तपाईँ सुन्दै हुनुहुन्छः

बहुमतको सरकार बनाउने प्रक्रिया अघि बढाउन देउवाको माग

काठमाडौँ । विश्वासको मत लिनका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नु भएको प्रस्ताव माथिको छलफलमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार पूर्ण रुपमा असफल भएको आरोप लगाउनु भयो ।
सभापति देउवाले सरकार गठन भएको ३ वर्षमा नै प्रधानमन्त्रीले विश्वासको मत लिनु पर्ने अवस्था आउनुमा स्वयम् प्रधानमन्त्री ओली नै जिम्मेवार रहेको बताउनुभयो ।
सभापति देउवाले संविधानले प्रधानमन्त्रीलाई कार्यकारी भूमिका दिएको बताउनुहुँदै देश र जनताको हितमा काम गर्न कसैले कहीँ नरोकेको अवस्थामा समेत प्रधानमन्त्रीले आफु काम नगर्ने र दोष अरूमाथि थुपारेर भाग्न नमिल्ने बताउनुभयो ।
सभापति देउवाले प्रधानमन्त्री ओलीले विश्वासको मत नपाउने भएकाले अब संविधान अनुसार दुई वा दुईभन्दा बढी दल मिलेर बहुमतको सरकार बनाउने प्रक्रिया अघि बढाउन माग समेत गर्नुभयो ।
सभापति देउवाले वर्तमान सरकार संसद्प्रति प्रतिबद्ध नभएको, संसदीय व्यवस्थालाई धरापमा पार्ने काम गरेको, विधि र पद्धति छलेर अध्यादेश मार्फत सरकार चलाउन खोजेको, अध्यादेश मार्फत संवैधानिक परिषद्को मर्यादा र गरिमा समाप्त गर्ने काम गरेको आरोप समेत लगाउनुभयो ।
सभापति देउवाले महामारी नियन्त्रणमा सरकारलाई सहयोग गर्ने प्रतिबद्धता अनुसार आफूहरू अगाडि बढिरहेको भए पनि सरकार समयमा नै सचेत र गम्भीर नबनेको तथा खोपको व्यवस्थापन गर्न समयमा नै ध्यान नदिएको आरोप लगाउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button