तपाईँ सुन्दै हुनुहुन्छः

मध्यपुर थिमीको ६ वटा वडाले ५० शय्याको आइसोलेसन केन्द्र सञ्चालन गर्ने

भक्तपुर । मध्यपुर थिमि नगरपालिकाका ६ वटा वडाले संयुक्त रुपमा अक्सिजन सहितको ५० शय्याको आइसोलेसन केन्द्र सञ्चालन गर्ने भएको छ ।
मध्यपुर थिमिको नेपाली काँग्रेसबाट वडा अध्यक्षमा निर्वाचित भएका वडाहरू १, २, ३, ४, ६ र ९ वडाका वडा अध्यक्षहरूको सोमवार बसेको बैठकले करिब ९० लाखको लागतमा आइसोलेसन केन्द्र सञ्चालन गर्ने निर्णय गरेको हो ।
त्यसका लागि वडाको विकास बजेट कटौती गरी प्रत्येक वडाले १५ लाख रुपैयाँ विनियोजन गर्ने निर्णय समेत गरेको वडा नं. १ वडा अध्यक्ष सुरज खड्काले जानकारी दिनुभयो ।
आइसोलेसन केन्द्र बोडेस्थित कृषि विकास बैङ्कको केन्द्रीय तालिम प्रतिष्ठानको भवनमा सञ्चालन गरिनेछ ।
केन्द्रमा दक्ष जनशक्तिको समेत व्यवस्था गरिने वडा अध्यक्ष खड्काले बताउनुभयो ।
बोडेको कृषि विकास बैङ्कको सोही तालिम केन्द्रमा मध्यपुर थिमि नगरपालिकाले पनि २५ शय्याको एचडीयु शय्यासहितको ७५ शय्याको आइसोलेसन केन्द्र सञ्चालन गर्दै आएको छ ।
नगरको वडा नं.१, २, ३, ४, ६ र ९ मा बढ्दो कोरोना सङ्क्रमणलाई ध्यान दिँदै आइसोलेसन केन्द्र सञ्चालन गर्ने निर्णय गरेको अध्यक्ष खड्काले बताउनुभयो ।
‘वडाको भौतिक विकास भन्दा पनि वडावासीहरूको स्वास्थ्य महत्त्वपूर्ण भएको र यो विषम परिस्थितिमा वडा बासीको ज्यान ठुलो भएकोले चालु आव २०७७÷०७८ को विकास बजेट रकमान्तर गरेर भए पनि आइसोलेसन केन्द्र सञ्चालन गर्ने निर्णयमा पुगेका हाँै,’ खड्काले भन्नुभयो ।
भक्तपुरका चार स्थानीय तहमध्ये मध्यपुर थिमि कोरोना सङ्क्रमणको हटस्पटको रुपमा रहेको छ ।
यहाँ दैनिक एक सयको हाराहारीमा कोरोना सङ्क्रमण पुष्टि हुँदै आएको छ ।
मध्यपुर थिमिको ९ वटा वडामध्ये वडा नं. १, २, ३ र ९ मा सङ्क्रमणको दर धेरै रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button