तपाईँ सुन्दै हुनुहुन्छः

सुनसरीको दुहबीमा बजार अनुगमन, कालोबजारी गर्नेलाई कारबाही

सुनसरी । कोरोना नियन्त्रणका लागि स्थानीय प्रशासनले निषेधाज्ञा गरेको मौकामा दुहबी बजार क्षेत्रका केही व्यापारीहरूले खाद्यान्न सामग्रीको मूल्यवृद्धि गरेको सर्वसाधारणको गुनासो गरेपछि आज दुहबी बजार क्षेत्रका केही पसलहरूमा कारबाही सहितको अनुगमन गरेको छ ।
सुनसरीको दुहबीमा दुहबी नगरपालिकाका नगर उप–प्रमुख तथा अनुगमन समितिका संयोजक सुनिता दाहाल साहको नेतृत्वमा आज (सोमबार) बजार अनुगमन गरेको हो ।
बजारमा चिनी, तेल, दाल लगायत खाद्यान्नमा र अन्य सामानहरूमा केही व्यापारीले मनोमानी ढङ्गले बिक्री गर्ने गरेको जनगुनासो बढेपछि आज सो बजार क्षेत्रमा अनुगमन गरेको नगर उप–प्रमुख दाहालले बताउनुभयो  ।
जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रशासकीय अधिकृत सुधीर साफीले बजार अनुगमन गर्ने कार्य तीव्रताका साथ भइरहेको साथै यदि कोही व्यापारीले मूल्यवृद्धि र कालोबजारी गरेको जानकारी गराएमा तत्काल कारबाही गर्ने पनि बताउनुभयो । साफीले उपभोक्ता स्वयमले पनि सचेत भई त्यस्ता व्यापारीहरूलाई कानुनी कारबाहीमा ल्याउन मद्दत गर्न आग्रह समेत गर्नु भएको छ ।
आज (सोमबार) दुहबी बजार क्षेत्रमा अनुगमनको क्रममा दुहबीका केही पसलहरूबाट अत्यधिक मूल्य लिएर खाद्यान्न सामाग्री विक्री वितरण गरेको विल भरपाई नराखी बेच्ने गरेको सामान अनुगमन समितिले बरामद गरेको छ ।
दुहबी बजार क्षेत्रका पसलहरूमा अनुगमनको क्रममा आनन्द स्टोर, न्यु दुर्गा स्टोर, नेहा स्टोर, महेन्द्र किराना पसल र हरि स्टोर लगायतका पसलहरूमा अनुगमन गरिएको थियो ।
अनुगमनको क्रममा दुहबी ५ स्थितमा रहेको आनन्द स्टोरबाट खरिद बिल बिजक नभएको ४६ प्याकेट चकलेट बरामद गरिएको यस्तै दुहबी वार्ड नं. ४ स्थित रहेको न्यु दुर्गा स्टोरबाट चर्को मूल्यमा बेच्न राखेको ४१ प्याकेट माक्स बरामद गरिएको छ । यसै गरी दुहबी ३ स्थितमा  रहेको नेहा स्टोरबाट भन्सार छली गरी ल्याएको राजनिवास ३७ प्याकेट, जाफरानी जर्दा २५ प्याकेट र सैनिक खैनी ४२ प्याकेट बरामद गरिएको थियो ।
अनुगमन समितिले बरामद गरिएको सामानको एक हप्ता भित्र बिल बिजक बुझाउनु पर्नेछ, नबुझाएमा उक्त बरामद गरिएको सामानलाई नष्ट गरिने अनुगमन समितिका संयोजक सुनिता दाहाल साहले बताइन् ।
सो अनुगमनमा नगर उप–प्रमुख तथा अनुगमन समिति संयोजक सुनिता दाहाल साह, जिल्ला प्रशासन कार्यालय सुनसरीका अधिकृत सुधीर साफी, दुहबी नगरपालिका अधिकृत अजय गौतम, वडा नं. ४ अध्यक्ष राजन बस्नेत, वडा नं. ५ अध्यक्ष रमेश रौनियार, वार्ड नं. ६ अध्यक्ष मुन्ना हलुवाई, इलाका प्रहरी कार्यालय दुहबीका स.प्र.नि नागेश्वर थान्दार, दुहबी उद्योग वाणिज्य संघका अध्यक्ष सुनिल साह, रेडियो नेपाल सुनसरीका संवाददाता आशिष कुमार यादव लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button