तपाईँ सुन्दै हुनुहुन्छः

संयुक्त सरकार गठनका लागि बढ्यो दलहरूको सक्रियता

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले राख्नुभएको विश्वासको मतको प्रस्ताव प्रतिनिधिसभाको विशेष अधिवेशनबाट असफल भएपछि वैकल्पिक सरकार गठनका लागि दलहरूको सक्रियता बढ्न थालेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा २ अनुसार दुई वा दुई भन्दा बढी दलको समर्थन प्राप्त गर्ने प्रतिनिधिसभा सदस्यलाई पर्सी वैशाख ३० गते बेलुका ९ बजेसम्म प्रधानमन्त्री पदमा दाबी पेस गर्न हिजो आह्वान गर्नु भएपछि दलहरू गठबन्धनको सरकार निर्माणका लागि अग्रसर भएका छन् ।

यसै सन्दर्भमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीको उपेन्द्र यादव समूहसँग आज दिउँसो छलफल गदैछ ।

छलफलमा नेकपा एमालेका माधव नेपाल समूहका नेताहरूलाई पनि बोलाइएको बुझिएको छ ।

विश्वासको मतको प्रस्तावमा हिजो प्रतिनिधिसभामा भएको मतदानमा एमाले नेता नेपाल खनाल समूहका सांसदहरू अनुपस्थित हुनुभएको थियो ।
प्रतिनिधिसभामा विश्वासको मतको प्रस्ताव असफल भएपछि हिजो नै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जसपाका नेता उपेन्द्र यादवले संयुक्त वक्तव्य जारी गरी संयुक्त वैकल्पिक सरकार गठनका लागि आह्वान गर्नुभएको थियो ।

तर जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतोको समुह भने वैकल्पिक सरकार गठनको विपक्षमा उभिएको छ । यो समूह हिजो प्रतिनिधिसभामा विश्वासको मतको पक्ष वा विपक्षमा नलागी तटस्थ बसेको थियो । जसपाको यादव समूहका सांसदहरुले भने प्रस्तावको विपक्षमा मतदान गर्नुभएको थियो ।

हिजै राती जसपाका अध्यक्ष ठाकुरले एक वक्तव्य जारी गरी आफ्नो दल वैकल्पिक सरकार निर्माणको विपक्षमा रहेको जनाउनुभएको थियो । अध्यक्ष ठाकुरले आज राष्ट्रपतिलाई आफ्नो दलको आधिकारिक धारणा लिखित रुपमा बुझाउने तयारीमा रहेको जसपाका एक नेताले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button