तपाईँ सुन्दै हुनुहुन्छः

कोभिड नियन्त्रणमा सरकारका सबै शक्ति र संयन्त्र परिचालन गर्नुपर्छ : अध्यक्ष प्रचण्ड 

चितवन  । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कोभिड नियन्त्रणमा सरकारका सबै शक्ति र संयन्त्र परिचालन गर्नुपर्ने बताउनुभएको छ ।
आज केटीबी एडर्भटाइजिङ्ग एजेन्सी, चितवनले  प्रकाशित गरेको कोभिड–१९ विशेष बिजनेस म्यागेजिनको जुम प्रविधि मार्फत विमोचन गर्दै कोरोनाको पहिलो लहर भन्दा दोस्रो लहर बढी खतरा रहेको बताउँदै आम नागरिकलाई कोभिड नियन्त्रणमा एकजुट हुन आग्रह गर्नुभयो ।
कोभिड न्यूनीकरणको लागि सबै राजनीति दल, नागरिक, बुद्धिजीवीलगायत सामूहिक प्रयास हुनु जरुरी छ उहाँले भन्नुभयो,  यससँग लड्न राज्यका सबै शक्ति र संयन्त्रलाई समन्वयात्मक ढङ्गले परिचालन गर्नुपर्छ ।
म्यागेजिनको बारेमा बोल्दै प्रचण्डले भन्नुभयो, ‘चितवनबाट प्रकाशित भएको यो म्यागेजिनले चितवन आधार क्षेत्र बनाएर सम्पूर्ण क्षेत्रको विषय उठान गरे पनि यसले समग्र देशकै प्रतिनिधित्व गरेको छ ।’
म्यागेजिनको बारे संक्षिप्त रुपमा बताउँदै सम्पादक सूर्यप्रसाद अधिकारीले गत बर्षको कोभिडका विषयलाई अहिले प्रकाशित गरे पनि विषयबस्तुहरुले अहिले पनि उत्तिकै सान्दर्भिक रहेको बताउनु भयो  । म्यागेजिनमा समग्र देशको प्रतिनिधित्व हुने गरी चितवनका शिक्षा , स्वास्थ्य, उद्योग, कृषि पर्यटन विकास निर्माणलगायतका क्षेत्रहरूमा कोभिडले पारेको असर, चुनौती र सम्भावनालाई उजागर गर्ने प्रयास गरिएको छ ।
‘यो एउटा दस्ताबेज बन्न सफल भएको छ, यसका विषयवस्तु, लेख रचना उत्तिकै सान्दर्भिक र मार्ग निर्देशक छन् भन्ने विश्वास लिएका छौँ ।’ सम्पादक अधिकारीले भन्नुभयो  । विशेष अवस्थामा केन्द्रित भई  विशेष म्यागेजिनको रुपमा प्रकाशित यो म्यागेजिन सम्भवतः चितवनमा पहिलो म्यागेजिन भएको अधिकारीको भनाई थियो  ।
विमोचन कार्यक्रमका सभापति एवं केटीबी एडर्भटाइजिङ्ग एजेन्सीका अध्यक्ष किशोरचन्द्र सापकोटाले कम्पनीले व्यवसाय मात्र नभई सूचना सम्प्रेषण गर्दै आएको बताउँदै सामाजिक उत्तरदायित्वलाई पनि उत्तिकै महत्त्व दिएको बताउनुभयो  । सबै क्षेत्र, विषय विज्ञ, भरतपुर महानगरपालिका सबैको साथ र सहयोगबाट म्यागेजिन प्रकाशन गर्न सफल भएको उहाँले बताउनुभयो  ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button